थामियो शेयर बजार,नेप्सेसंगै कारोबार रकममा पनि सुधार

काठमाडौँ, जेठ ३। लगातार ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहिबार भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३सय ३९.६५ अंकको बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहिबार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ ।

बुधबार १५८ कम्पनीको ४ लाख २३ हजार ३ सय ७६ कित्ता शेयर कारोबार हुँदा २२ करोड २० लाख ५१ हजार ७ सय ९७ रुपैया बराबरको कारोबार भएको थियो । बिहिबार भने १५४ कम्पनीको ५ लाख ७९ हजार ४१ कित्ता शेयर रु २८ करोड ५४ लाख ५५ हजार १४१ मूल्यमा खरिद बिक्री भएको छ ।

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया सहज रुपमा अगाडि बढेको भन्दै बजारमा सकारात्मक प्रभाव परेको टिप्पणी गरिएको छ ।

स्टकका अनुसार आज पाँच उपसमूहको शेयरको मूल्य ओरालो लाग्दा पाँच उपसमूहको शेयरमात्रै उकालो लागेको थियो । बैंकिङ २.२, होटल २.९, विकास बैंक २.७१, जलविद्युत् ४.७९, बीमा उपसमूह २८.७२ बिन्दुले उकालो लागेको छ ।

यस्तै व्यापार ४.९८, फाइनान्स ०.२९, उत्पादन १५.९६, अन्य २.४७ र माइक्रोफाइनान्स ४.०२ बिन्दुले ओरालो लागेको छ ।

यस दिन नेपाल बैंकको सबभन्दा धेरै कित्ता शेयर कारोबार भएको छ भने वोमी माइक्रोफाइनान्सको सबै भन्दा धेरै रकमको कारोबार भएको छ ।

 

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /Thursday, May 17th, 2018, 3:49 pm