एमाले–माओवादी पार्टी एकता आज

काठमाडौं, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो।

दुई नेताबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य रहने सहमति भएको छ । यस्तै निर्देशक सिद्धान्त ‘जनताको जनवाद’ हुने भएको छ । यी विषयको औपचारिक निर्णय बिहीबार बिहान बालुवाटारमा बस्ने केन्द्रीय एकता संयोजन समिति बैठकले गर्नेछ । एकीकृत पार्टीमा दुई अध्यक्ष हुने सहमति यसअघि नै भइसकेको छ।

दुवै दलबीच एकीकृत दलमा चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ । जसमा एमालेबाट दुई सय ४१ र माओवादी केन्द्रबाट दुई सयजना रहनेछन् । एकीकृत पार्टीमा ४३ सदस्यीय स्थायी कमिटी रहनेछ । स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहेनछन् । केन्द्रीय कमिटीमा एमालेको ५४ र माओवादी केन्द्रको ४६ प्रतिशत तथा स्थायी कमिटीमा एमालेको ५९ र माओवादीको ४१ प्रतिशत प्रतिनिधित्व हुनेछ । एकीकृत पार्टीमा पोलिटब्युरो रहने छैन । दुई नेताबीच आगामी महाधिवेशनमा नेतृत्व छनोट सहमतिमा गर्ने सहमति भएको छ । महाधिवेशनसम्म दुई अध्यक्ष रहने सहमति यसअघि नै भइसकेको छ। (नागरिक दैनिकबाट)

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /