४४१ केन्द्रीय कमिटी बन्ने, यसरी मिल्यो एमाले र माओवादी एकताको कुरो

काठमाडौँ, जेठ २ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता गर्ने निर्णय गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गरेको छ । एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहीबार हुने एकतापछि नयाँ बन्ने पार्टीको केन्द्रीय कमिटीको संख्या ४४१ हुने, ४३ सदस्यीय स्थायी कमिटी र चुनाव चिन्ह सूर्य हुनेछ ।

२४१ एमाले र २ सय माओवादीका केन्द्रीय कमिटीमा रहनेछन् । स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीच भएको निर्णयलाई स्वागत गरेको भट्टराईले जानकारी दिए ।

“पार्टी एकता कुन साल, कुन महिनामा होला भन्ने थियो” उनले भने, “कुन दिन भन्दै अब घण्टातिर आएका छौं । निर्वाचन आयोगमा प्रस्तुत गर्ने विधान, लगायतका विषय एकता संयोजन समितिले टुंगो लगाउनेछ ।”

बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेर एकताको घोषणा गर्ने तयारी छ ।

यता माओवादी केन्द्रको कार्यालय बैठक प्रचण्ड निवास खुमलटारमा अहिलेसम्म जारी रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /