गरिबलाई लुट्दै खानीखोला जलविद्युत

केशव घिमिरे/ललितपुर, जेठ २ । ललितपुर भट्टेडाँडाका किसनमान स्याङतानले ऋण काढेर ३ बर्षअघि भट्टेडाँडास्थित खानीखोला हाइड्रोपावरको सेयरमा ४ हजार लगानी गरे । लगानी गरेको १ बर्षमा त बोनस खाउना भनेर पर्खिएर पनि बसे । तर, बर्सौं बित्दा पनि आयोजनाले सेयर धनीहरुलाई बोनस खुवाउन नसक्दा उनी निरास छन् । ‘ऋण खोजेर लगानी गरेको हाइड्रोपावरले डुवायो,’ उनले भने, ‘बरु अन्य ठाउँमा लगानी गरेको भए फाइदा हुन्थ्यो होला, हाइड्रोपावरले गरिबको पैसा लुट्यो ।’ उनले थोरै भएपनि बोनस खाउला भन्ने आशामा जलविद्युतमा लगानी गरेका थिए । तर, बोनस खाउला भन्ने बेलामा जलविद्युत आयोजना नै अलपत्र परेपछि उनको सपना अपूरो भएको छ ।

यो आयोजनामा २६ जना कर्मचारी छन् । तर, ती कर्मचारीको पनि खासै काम देखिन्न । जनताको पैसा उठाएर सञ्चालन गरिएको आयोजनाले कर्मचारी पाल्नबाहेक अन्य प्रगती गर्न सकेको छैन । आयोजना नै सुक्ने अवस्थामा पुगेपछि सानादेखि ठूला लगानीकर्तासम्म मर्कामा परेका हुन् । उनीहरु आयोजना र नेपाल विद्युत प्राधिकरणको बेवास्ताले आफ्नो पैसा गुम्ने अवस्थामा पुगेको बताउँछन् ।

यता हाइड्रोपावर कम्पनीले भने पानीको वहाव कम भएर ३ मेगावट विजुली उत्पादन हुन नसक्ने अवस्थामा सेयर सदस्यलाई झुक्याउँदै आएको छ । कम्पनीले ६ दशमलव ३६ मध्ये झण्डै आधा बिजुली खेर गइरहेको बताउँदै आएको छ । तर, उक्त पानीबाट त्यति नै बिद्युत उत्पादन नहुने प्रष्ट हुन्छ । आयोजना प्रमुख भरत थापाका अनुसार टुंगुन–ठोस्ने खोलाबाट ४ दशमलव ३६ मेगावाट र खानीखोलाबाट दुई मेगावाट विद्युत उत्पादन भइरहेको दाबी गर्छन् । ‘दुई वर्षअघि भएको सम्झौताअनुसार ठेकेदार कम्पनीले गत पुस मसान्तसम्म प्रसारण लाइनको काम सक्नुपथ्र्यो,’ उनले भने, ‘तर, अहिलेसम्म १० प्रतिशत पनि काम भएको छैन, काम सकिएको भए पानी पुग्थ्यो ।’

यस क्षेत्रमा जोड्ने प्रसारण लाइन निर्माण सुस्त छ । निर्माणको जिम्मा पाएको त्रिपुरेश्वर जय दुर्गा कम्पनीले २०७२ सम्म प्रसारण लाइन निर्माण सक्ने सम्झौता थियो । तर, दुईपटक म्याद थपिँदा पनि निर्माण अलपत्र परेको छ ।

४० किलोमिटर रहेको प्रसारण लाइनमध्ये हालसम्म ६ किमी मात्रै निर्माण भएको छ । प्रसारण लाइनका लागि ल्याइएका पोल अलपत्र फालिएका छन् । प्रसारण लाइन निर्माणमा ठेकेदारले लापरबाही गरेको उनको आरोप छ ।

मातातीर्थ प्रसारण लाइनमा विद्युत नजोडिँदा घाटा बेहोर्नुपरेको आयोजना प्रमुख थापाले बताए । उनका अनुसार आयोजनाको १.४ मेगावाट बिजुली ११ केभी फिडरको लगनखेल प्रसारण लाइनमा जोडिएको छ । यहाँको विद्युत दक्षिण ललितपुर वितरण भइरहेको छ । ‘अहिले लोकल लाइन (एलटी) ११ केभीमा जोडेर केही विद्युत बेचेका छौं,’ उनले भने, ‘ठेकेदारले काम नगर्दा उत्पादन भएको बिजुली खेर गएको हो ।’

आयोजना निर्माणका लागि खानीखोला जलविद्युत आयोजनाले १ अर्ब १५ करोड लगानी गरेको थापाले बताए । उनका अनुसार आयोजनामा १० प्रतिशत स्थानीयको र बाँकी कम्पनीको लगानी छ । आयोजनामा अहिले २६ कर्मचारी छन् । तर, विद्युत प्रसारण लाइनमा नजोडिँदा कर्मचारी खाली बस्न बाध्य छन् ।

 

यो पनि पढ्नुहोस

सेयर सदस्य झुक्याउँदै खानीखोला जलविद्युत

तस्विरमा खानीखोला हाइड्रोपावर

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 4:35 pm