किन हुन सकेन जिल्ला समन्वय समिति प्रभावकारी ?

काठमाडौं, जेठ २ । जिल्ला समन्वय समितिको कामकारबाही प्रभावकारी बन्न नसकेको पाइएको छ। संविधानतः समितिलाई जिल्लाभित्रका स्थानीय तहको अनुगमन र समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। यस्तो समिति व्यवहारतः अधिकारविहीन रहेकाले खासै कामकारबाही गर्न नसकेको समन्वय समितिका पदाधिकारीहरू बताउँछन्।

एक वर्षमा समितिका पदाधिकारीको कार्य सभासमारोहमा जाने र बैठक बस्नेबाहेक केही प्रगति नदेखिएको बताउँदै जिल्ला समन्वय समिति ललितपुरका प्रमुख अमरबहादुर खड्काले भने– ‘स्थानीय तहको अनुगमन र समन्वय कसरी गर्ने ? त्यसका लागि दक्ष जनशक्ति खोइ ? कानुन खोइ ? अहिलेसम्म केन्द्र र प्रदेशले यसबारे स्पष्ट पारेका छैनन्।’

स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन २०७४ को धारा ९२ मा जिल्लासभाको काम, कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ। त्यसमा प्रदेश कानुनले अन्यथा व्यवस्था नगरेसम्म संविधानको धारा २२० को उपधारा ९७० मा उल्लेख भएबमोजिमको काम, कर्तव्य र अधिकार समितिको हुने भनिएको छ।

सँगसँगै अन्य काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ। ‘समितिको काम, कर्तव्य र अधिकारबारे प्रदेशले अहिलेसम्म केही कानुन बनाएको छैन। प्रदेशको कानुन आउला भनेर पर्खिरहेका छौं।’ –समितिका प्रमुख खड्काले भने । (नेपाल समाचारपत्र दैनिक)

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ /Wednesday, May 16th, 2018, 7:14 am