जेठको सुरुको दिनमा पनि घट्यो नेप्से, ३ कम्पनिले ५ प्रतिशत भन्दा बढीले कमाए

काठमाडौं, जेठ १ । महिनाको पहिलो दिन पनि नेप्से घटेर बजार बन्द भएको छ । मंगलबार नेप्से ४ दशमलव ३२ अंकले घटेर १ हजार ३ सय ३३ दशमलव ८५ अंकमा पुगेर कारोबार बन्द भएको हो ।

यस दिन १ सय ४३ कम्पनीहरुको ३ लाख १९ हजार २ सय ६० कित्ताको शेयर खरिदबिक्री हुदै जम्मा १४ करोड ९२ लाख ३९ हजार ९५५ रुपैयाँ कारोबार भएको छ । हिजोको तुलनामा आज २७ करोड ५९ लाख ५४ हजार ३४४ रुपैयाँ कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूह मध्ये २ समूह मात्रै बढेका छन् भने अरु सबै समूह घटेका छन् । उत्पादन समुह २८ दशमलव १६ अंक र ट्रेडिङ्ग समुह ५ दशमलव ४९ अंकले बढेका छन् भने होटल समुह ३२ दशमलव ९५ अंक, जलविद्युत समुह १३ दशमलव १४ अंक, विमा समुह १२ दशमलव ७६ अंक, विकास बैंक समुह १० दशमलव ९६ अंक, लघुवित्त समुह ५ दशमलव ६२ अंक, बैंकिग समुह ४ दशमलव २८ अंक, फाइनान्स समुह १ दशमलव ३३ अंक र अन्य समुह शुन्य दशमलव ५३ अंकले घटेका छन् ।

यस दिन सर्बाधिक कमाउनेमा हिमालयन डिष्टलरी लिमिटेड रहेको छ यस कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ९५ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्स ५ दशमलव ३२ प्रतिशत बढेको छ । त्यस्तै जनउत्थान सामुदायिक माइक्रोफाइनान्स विकास बैंकको ४ दशमलव ९१ प्रतिशत गिरावट आएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ /