कांग्रेस पार्टीमा निरकुंश र स्वेच्छाचारता अस्विकार्यः नेता पौडेल

काठमाडौं, वैशाख ३१ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा निरकुंश र स्वेच्छाचारिता स्वीकार्य नहुने बताउनुभएको छ ।

तरुण दलको कर्णाली प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै नेता पौडेलले पार्टीमा निरंकुशता र स्वेच्छाचारीता बढेको आरोप लगाउँदै त्यो स्वीकार्य नहुने बताउनुभको हो ।

आफूले पार्टी सभापतिलाई ‘त्यागको पूजा हुन्छ, भोगको पूजा हुँदैन’ भन्दा नसुनेको भन्दै नेता पौडेलले देउवाले एकलौटी गरेकोमा आक्रोश व्यक्त गर्नुभयो ।

नेता पौडेलले कांग्रेसमा एकताका लागि बिगतका गल्तिको समीक्षा हुनुपर्ने भन्दै कम्युनिस्टहरु मिलेकाले चुनाव हारियो भन्नु हास्यास्पद भएको बताउनुभयो । सरकारमा हुँदा राम्रो निर्णय र काम नभएका कारण कांग्रेस पछाडि परेको उहाँको बुझाई छ ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराललाले काङ्ग्रेस नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता कोईरालाले सभापतिको कुर्सीमा देउवा रहुन्जेलसम्म काग्रेस कमजोर नै रहने बताउनुभयो ।

दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेर विधान मिचेको र अहिले पदाधिकारी नियुक्त गर्दा सहमति विपरित हिँडेको उहाँले देउवामाथी आरोप लगाउनुभयो ।

कांग्रेसलाई ट्रयाकमा ल्याउन विधान परिवर्तन गर्दै शीघ्र महाधिवेशनमा जानुपर्ने उहाँको भनाई छ ।

एक अर्को प्रसंगमा बोल्दै नेता कोईरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण उपलब्धीमूलक भएको बताउनुभयो ।

तेस्रो पटक नेपाल आएका मोदीले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको नेता कोईरालाको भनाई छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 7:09 pm