जानकी मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक परेको बारे मुख्यमन्त्रीसंग स्पष्टिकरण माग

काठमाडौँ, बैशाख ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण माग गरेको छ ।

संघीय मामिलामन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र संविधान विपरीत रहेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव राजेश्वरमान सिंह, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली तथा जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रिस्तरीय निर्णय गर्दै तीन दिनभित्र स्पष्टिकरण माग गरेका हुन् ।

दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थानमा राखिएको नेपालको झण्डाको स्वरुप र आकार किन फरक भयो भनेर चार वटा सरकारी निकायका अधिकारीहरुसँग तीन दिने स्पष्टिकरण मागिएको मन्त्री पण्डितका स्वकीय सचिव वसिम आलमले जानकारी दिए ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 6:26 pm