प्लटिङले साघुरियो कर्मनसा

ललितपुर, वैशाख ३१ । ललितपुरको हरिसिद्धिस्थित खेतीयोग्य जग्गालाई धमाधम प्लटिङ गर्न थालिएको छ । जग्गाको भाउ महँगिँदै गएको र खेतमा हुने उत्पादनभन्दा जग्गा कारोबारमै फाइदा हुने भएपछि स्थानीयले खेतीयोग्य जग्गालाई प्लटिङ गर्न थालेका हुन्।

प्लटिङ थालेसँगै हरिसिद्धि सिलौटेस्थित कर्मनसा खोला आसपासको करिब २ सय रोपनी खेतीयोग्य खेतबारी टुक्रे जग्गामा परिणत भएको छ। ’पहिला–पहिला राम्रो उत्पादन हुन्थ्यो,’ हरिसिद्धीका स्थानीय मुकेश मर्हजनले भने, ’तर, इँटाभट्टा र प्लटिङले पछिल्लो समय खेतीयोग्य उर्वर माटो रुखो र कडा बन्दै गएको छ।’

सिलौटेमै हरिसिद्धि हुँदै बग्ने कर्मनसा खोलाको किनार मिचेर धमाधम घर बनाउन थालिएको छ। खोलाको जग्गा मिचेसँगै बहावक्षेत्र साँघुरिँदै गएको छ। तर ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले यस विषयमा खासै चासो दिएको देखिँदैन। सम्बन्धित निकायले चासो नदिँदा स्थानीय र जग्गा विचौलियाहरूले नै दशकयता खोलाको जग्गा अतिक्रमण गरिरहेका छन्।

काठमाडौं उपत्यका नगर विकास प्राधिकरण ललितपुरका आयुक्त नारायणराज भण्डारीले प्लटिङ गर्दा बाटो र खोलाको जग्गा मिचेका कारण प्लटिङ रोक्न एक महिनाअधि सूचना जारी गरेको जानकारी दिए। ’जग्गा व्यवसायी र स्थानीयले मापदण्डअनुसार सडक र खोलाको जग्गा नछाडेकोले उक्त क्षेत्रमा प्लटिङ र घर निर्माण रोक्न आदेश दिएका छौँ,’ उनले भने, ’मापदण्ड मिचेर प्लटिङ गर्नेलाई कानुनी कारबाही गर्छौँ।’ उनले खेतीयोग्य जमिन प्लटिङ गर्दा नगर विकास प्राधिकरणसँग प्लानिङ पर्मिट लिनुपर्ने कानुनी व्यवस्था भए पनि स्थानीय र जग्गा व्यवसायीले उक्त नियम मिचेको बताए।

प्राधिकरणको २०६४ सालको मापदण्डअनुसार खोलादेखि १० मिटर दूरीमा जग्गा प्लटिङ र घर निर्माण गर्न पाइँदैन। खोला अतिक्रमण रोक्न महानगरपालिकाले अहिलेसम्म कुनै पहल सुरु गरेको छैन।

खोला मिचेर बहाव साँघुरो पारिएपछि बर्खायाममा घरमै बाढी पस्ने गरेको सिलौटेका टेकबहादुर थापाले बताए। उनका अनुसार यस क्षेत्रमा २०६७र६८ सालदेखि नै खोेलाको जग्गा मिचेर घर निर्माण र खेतीयोग्य जग्गा प्लटिङ हुँदै आएको छ। कर्मनसा खोलाको दायाँ र बायाँ दुवैतर्फ जग्गा मिचिएको उनले बताए।

स्थानीय जग्गा व्यवसायीले सम्बन्धित नगरपालिका तथा प्राधिकरणलाई खबरै नगरी प्लटिङ गरिरहेका छन् भने कतिपयले खोलाको जग्गा मिचेर घरै बनाइसकेका छन्। यसरी घर बनाउनेमा स्थानीय मंगल जोशी, कान्छा लिम्बू, महेश अग्रवाल, सुरेश महर्जनलगायत छन्। उनीहरूले महानगरपालिकाको मापदण्ड मिचेर घर बनाएको प्राधिकरणका जिल्ला आयुक्त भण्डारीले बताए। उनले उक्त क्षेत्रमा अहिले जग्गा प्लटिङ र घर निर्माणको कार्य रोकेको जनाकारी पनि दिए।

ललितपुर महानगरपालिका–१५ का वडाअध्यक्ष सुदर्शन मिश्रका अनुसार वडाले यस क्षेत्रमा भएको मापदण्ड विपरीतको प्लटिङलाई कडाइ गर्नेछ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 7:51 am