नर्सलाई ‘सौतेनी’ व्यवहार

जाजरकोट, वैशाख ३१ । यहाँका नर्सहरुले राज्यले आफूमाथि ‘सौतेनी’ व्यवहार गरेको गुनासो गरेका छन् । १९८ औं अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

जाजरकोट जिल्ला अस्पतालकी नर्सिङ इन्चार्ज चित्रा खनालले राज्यले अन्य पेशाकर्मीको तुलनामा भेदभाव गरेको बताइन् । ‘दक्ष नर्सबिना कुनै पनि बिरामीको उपचार संभव छैन,’ उनले भनिन्, ‘तर राज्यले हाम्रो कामको मूल्यांकन कहिल्यै गर्दैन ।’ नर्सिङ क्षेत्रमा कार्यरत जनशक्तिको हक अधिकारको लागि तीनै तहका सरकार गंभीर हुनुपर्ने उनले बताइन् ।

नेपालमा हाल करिब ७५ हजार नर्स कार्यरत छन् । तर यो संख्या निकै अपुग रहेको उनीहरुको भनाइ छ । एक नर्सले ६ जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड भए पनि नेपालमा भने एक नर्सले सरदर ४० बिरामी हेरिरहेका खनाल बताउँछिन् । जाजरकोटका स्वास्थ्य संस्थामा ७८ नर्स कार्यरत छन् ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले नर्सिङ पेसाको महत्वलाई सबैले आत्मसाथ गरी नर्सको वृत्तिविकासको लागि राज्यले सहयोग गर्नुपर्ने बताए । (कान्तिपुर)

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 1:55 am