साताको अन्तिम दिन पनि घट्यो नेप्से, यी कम्पनीका लगानीकर्ताले भने कमाए

काठमाडौं, वैशाख २७ । साताको अन्तिम कारोबार दिन बिहिबार पनि नेप्से घटेर बजार बन्द भएको छ । यस दिन नेप्से ७ दशमलब ७० अंकले घटेर १ हजार ३ सय ४८ दशमलब ४५ अंकमा पुगेको छ ।

बुधबार पनि नेप्से ४ दशमलब ८७ अंकले घटेर १ हजार ३ सय ५६ दशमलब १५ अंकमा पुगेको थियो ।

नेप्सेमा गिरावट आए पनि कारोबार रकममा भने केहि सुधार आएको छ । महिनाको अन्तिम कारोबारको दिन बजारमा १ सय ६१ कम्पनीका ७ लाख ७३ हजार २ सय १० कित्ता सेयर ३५ करोड ८८ लाख ४४ हजार २ सय ६० रुपैयाँमा किनबेच भयो ।

त्यसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २२ लाख बढीको कारोबार गर्यो । यस्तै, बुटवल पावर कम्पनीले १ करोड ३५ लाख, स्वालम्बन विकास बैंकले १ करोड २७ लाख, एनएमबी बैंकले १ करोड १८ लाख, सिद्धार्थ इन्स्योरेन्सले १ करोड ११ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ७ लाख बढीको कारोबार गरे । ग्लोबल आइएमई बैंकको ९४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा राष्ट्रिय बिमा कम्पनीको पनि सोही बराबरको संस्थापक सेयरको कारोबार भयो ।

बजारमा यो दिन सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह ३.३४ अंकले घट्यो भने व्यापार समूह ५.८३, होटल समूह ३१.८२, विकास बैंक समूह ५.६७, जलविद्युत समूह २५.६३, बित्त समूह २.४१, बिमा समूह ६९.२८, माइक्रोफाइनान्स समूह १४.४१ र अन्य समूह ६.४६ अंकले घटे ।

यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, सपोर्ट माइक्रोफाइनान्सको मूल्य ५.८० र किसान माइक्रोफाइनान्सको मूल्य ५.०५ प्रतिशतले वृद्धि भयो ।

यो दिन नेरुडे लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.२५ प्रतिशतले घट्यो ।

प्रकाशित मिति: बिहिबार, बैशाख २७, २०७५ /Thursday, May 10th, 2018, 3:31 pm