कर नतिर्नेलाई त्यसै छाड्दैनौं : राजस्व महाशाखा प्रमुख शाक्य (भिडियोसहित)

ललितपुर, बैशाख २७ । ललितपुर महानगरपालिका राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यलाई अहिले भ्याइनभ्याई छ । लामो समयदेखि कर नतिरेका ठूला तथा साना व्यवसायीलाई कर तिर्ने वातावरण बनाउन उनी दौडधुप गरिरहेका हुन्छन् ।

महानगरपालिकाले यसवर्षलाई कर वर्ष घोषणा गरेको छ, जसमा ९ महिना वितिसकेको छ, यो अवधिमा २० वर्ष पुराना व्यवसायीले कर तिरेको उनले बताए । महानगरपालिकाभित्र रहेका केही ठूला व्यवसायीहरु अझै पनि कर तिर्न नआएको र उनीहरुलाई पनि करको दायरामा ल्याउने बारे आफूले प्रयास गरिरहेको उनले जानकारी दिए, कहिले काँही त यति दिक्क लाग्छ कि, जनप्रतिनिधि आइसकेका छन, अब खर्च बढ्दै छ यस्तो अवस्थामा जम्मा महानगरका १५ प्रतिशतले मात्रै कर तिरेका छन कसरी खर्च धान्ने ?

उनी विहानैदेखि यसकै लागि दौडधुपमा हुन्छन । राजस्व महाशाखा प्रमुख भएका कारण उनको जिम्मेवारी सबै महानगरबासीको कर उठाउनु रहेको हुन्छ । त्यसमाथि अहिले महानगर प्रमुख चिरिबाबु श्रेष्ठलाई कर उठे नउठेको बारेमा जानकारी पनि गराउनुपर्ने हुँदा शाक्यको दैनिकी कर उठाउने बारेमा योजना बनाउँदै र कर्मचारीसँग सल्लाह गर्दैमा वित्छ ।

कर उठाउनका लागि शाक्यले प्रमुख चिरिबाबु महर्जनलाई दुईतीनवटा योजना सुनाए तर, प्रमुखले मान्नु भएन सायद जनप्रतिनिधि भएकाले उहाँ डराउनुभएको हुनसक्छ । अनिवार्य नगरी कुनै पनि कर नउठ्ने उनले आजसम्म पाएको सबैभन्दा ठूलो शिक्षा हो ।

सरकारी निकायको सञ्चयकोषले अहिलेसम्म महानगरपालिकालाई कर तिरेको छैन । महानगरभित्र रहेका तीनवटा भवनबाट मात्रै २० कारोडमाथि कर उठ्न वाँकी रहेको उनले बताए । पटक पटक पत्राचार गरेपनि सञ्चयकोषले अटेरी गरिरहेको उनको गुनासो छ ।

महानगरपालिकाले घोषणा गरेको कर वर्षको वाँकी ३ महिनामा कम्तीमा एक अर्व कर उठ्ने उनले विश्वास लिए तर, त्यति सहज भने छैन । महानगरपालिकामा कम्तीमा ८० प्रतिशत मानिसबाट कर उठाउने हो भने महानगरभित्र रहेका सबै वडालाई दश दश करोड रुपैयाँ वितरण गर्न सकिने शाक्यले बताए ।

आफ्नो योजनामा महानगरका प्रमुख, उपप्रमुखले साथ दिए सजिलै कर उठ्ने र त्यसलाई महानगरको विकासमा लगाउन सकिने उनले बताए । महानगरभित्र रहेका झण्डै एक लाख घरधनीले घरबहाल कर नतिरेको र उनीहरुलाई कर तिर्न लगाउने वातावरण निर्माणमा जुटिरहेको शाक्यले जानकारी दिए ।

दिएको भन्दा कम मूल्यांकन गराएर कर तिर्नेपनि छन, कति त बहाल लिने तर, कर नतिर्ने पनि छन, उनीहरुसबैलाई करको दायरामा ल्याउनैपर्छ त्यसका लागि वातावरण बनाइरहेको उनले बताए । ललितपुर महानगरलाई आर्थिक मितव्ययी महानगरका रुपमा विकास गर्न आफूले कर अनिवार्य गर्ने योजना ल्याएपनि प्रमुखलाई कुरा बुझाउन नसक्दा कार्यान्वयनमा ढिलाई भएको उनले बताए । प्रस्तुत छ, कर वर्ष, महानगरका आगामी रणनीतिमा केन्द्रीत रहेर ललितपुर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यसँग दैनिकीन्यूजले गरेको भिडियो कुराकानी

प्रकाशित मिति: बिहिबार, बैशाख २७, २०७५ /