नेपालमा सेवा विस्तार गर्दै चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबा

काठमाडौं, वैशाख २५ । चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबाले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

नेपाल सहित दक्षिण एसियाको ५ देशमा सेवा दिदै आएको रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर अलिबाबाले किनेपछि अलिबाबाले नेपालसहित दक्षिण एसियाली देशहरुमा सेवा दिन लागेको हो ।

अलिबाबाले दराज ग्रुपको सबै शेयर किनेको बताए पनि कतिमा किनेको हो भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन ।

सन् २०१२ मा पाकिस्तानमा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ । अब अलिबाबाले पनि दराजकै ब्राण्डमा यी देशहरुमा आफ्नो सेवा विस्तार गर्ने बताएको छ ।

रकेटले प्रविधि, अनलाइन व्यापार, मोवाइल पेमेन्टलगायतका क्षेत्रमा अलिबाबाको नेतृत्व र अनुभव उपयोग गर्न दराज सक्षम रहेको जनाएको छ । यो सम्झौतापछि दक्षिण एसियाको ४६ करोड मानिसहरु लाभान्वित हुने रकेटले जनाएको छ ।

अलिबाबाका सीईओ ड्यानियल झाङले दराजको प्राप्तिले उद्यमशीलता विकास गर्नुका साथै दक्षिण एसियाली क्षेत्रका उपभोक्तालाई राम्रो सेवा दिने बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २५, २०७५ /Tuesday, May 8th, 2018, 6:02 pm