मोदी आउने भएपछि आम नागरिकलार्इ मुस्ताङ प्रवेशमा रोक

काठमाडौं, वैशाख २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि जिल्ला प्रशासन कार्यायलयले त्यहाँ पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मुस्ताङ प्रवेश तथा मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ । गत वैशाख २३ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

शाखा अधिकृत जितेन्द्र बलामीले जारी सूचनामा प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गर्ने भएकाले सुरक्षा व्यवस्थालाई सुरक्षित र भरपर्दो बनाउन यात्रुहरुको आवागमनमा रोक लगाउने निर्णय गरिएको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, मनाङ जिल्लाबाट थोरङला पास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने पदयात्रीहरुलाई वैशाख २८ र २९ गते रोक लगाउने निर्णय भएको साथै मुक्तिनाथ दर्शनका लागि बेनी जोमसोम हुँदै आउने यात्रुहरु एवम् हेलिकोप्टरको माध्यमबाट मुक्तिनाथ क्षेत्रमा आउने यात्रुहरुलाई यही वैशाख २८ र २९ गते मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको हुँदा सोही अनुसार गर्नु–गराउनुहुन अनुरोध छ ।

यद्यपि, प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने जिल्ला भरी प्रवेशमा रोक नलगाइएको र २९ गते भारतीय प्रधानमन्त्री मुक्तिनाथ दर्शनका लागि आउने भएका कारण दुई दिन त्यहाँको तयारी गर्न मन्दिर प्रवेश गर्न मात्र रोक लगाइएको बताए ।

‘सूचनाको भाव त्यस्तो देखिए पनि जिल्लामा प्रवेश रोक लगाइएको होइन,’ उनले भने, ‘तयारीका लागि मात्र यो सूचना जारी गरेको हो ।’

प्रकाशित मिति: मङ्लबार, बैशाख २५, २०७५ /Tuesday, May 8th, 2018, 1:23 pm