नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीसँग स्पष्टीकरण माग

काठमाडौं,बैशाख २५ । सरकारले नेपाल टेलिकमकी पहिलो महिला प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ ।

मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) की प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टीकरण सोध्न सूचना तथा सञ्चार मन्त्रालयलाई स्वीकृति दिएको हो ।

गतसाता प्रधानमन्त्री केपि ओलीले राजभण्डारीलाई बोलाएर ‘सन्तोषजनक’ काम नगरेको भन्दै नसुध्रिए कारवाही गर्ने चेतावनी दिएका थिए।

टेलिकमको सेवा र गुणस्तर लगातार खस्किँदै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा कम आम्दानी हुँदा पनि पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोप लागेको छ ।

प्रधानमन्त्री ओलीले ‘फोरजी सेवा’ बिस्तारका बिषयलाई लिएर स्पष्टीकरण सोधेका बताईएको छ । स्रोतहरुका अनुसार, फोरजी बिस्तारमा अनावश्यक ढिलाइ गरेको, अप्टिकल फाइबर बिछ्याउने काममा कुनै प्रगति नभएको, टावर लगायत पूर्वाधारको काम हुन नसकेको तथा अन्य नगरी नहुने काम पनि अड्को थापेर अगाडि नबढाएको आरोप राजभण्डारीमाथि लगाइएको छ।

स्रोतका अनुसार उनलाई बर्खास्त गर्नकै लागि स्पष्टीकरण सोधिएको हो । तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा ०७३ मा नियुक्ति पाएकी कामिनीको पदावधि ०७६ सम्म छ ।

सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले कार्यभार सम्हालेलगत्तै नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणको कार्य प्रगति शन्तोषजनक नभएको भन्दै सुधारका लागि निर्देशन दिएका थिए ।

यसैबीच राज्यमन्त्री बास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको कामप्रति पनि अशन्तुष्टि जनाउदै ग्रामीण दूरसञ्चार कोषको अर्बौं रुपैयाँ निजी सेवा प्रदायकलाई दिएकोमा कुनै काम अघि नबढेको भन्दै सो रकम फिर्ता गर्न अध्यक्ष दिगम्बर झालाई निर्देशन दिएका छन् साथै उनले तत्काल कुनै पनि काम तथा सम्झौता अघि नबढाउन समेत झालाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २५, २०७५ /Tuesday, May 8th, 2018, 11:28 am