खानेपानी मन्त्री बिना मगरसँग अमेरिकी राजदूत अलैनाको भेटवार्ता

काठमाडौं, बैशाख २४ । खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गर्नुभएको छ ।

खानेपानी मन्त्रालयमा गरिएको भेटवार्तामा मन्त्रालयका योजना र अमेरिकी सरकारले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो । छलफलमा मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको सहज सुविधा पु¥याउन मन्त्रालयले योजना बनाइरहेको बताउनुभयो । ‘७ वटै प्रादेशिक राजधानी तथा तराईमा ठूला ८ वटा खानेपानी आयोजना सञ्चालनका लागि अध्ययन भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘खानेपानी मन्त्रालय जनताको चुलो र महिलासँग जोडिएकाले मन्त्रालयको नेतृत्वमा महिला नै पाउँदा जनताका अपेक्षा बढी छन् ।’ पहाडी र हिमाली क्षेत्रका लागि राष्ट्रिय प्राथमिकताका योजना सञ्चालनका लागि अध्ययन भइरहेको मन्त्री मगरले बताउनुभयो ।

‘सरसफाईलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने गरी योजना बनिरहेको छ,’ उहाँले भन्नुभयो, ‘खुलादिसामुक्त जिल्ला घोषणा अभियान अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्र शत्प्रतिशत प्रगति हुन्छ ।’ खुलादिसामुक्त घोषणा अभियानले सरसफाई सम्बन्धी बानी र चेतनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । ‘आगामी २८ मेका दिन परेको अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसलाई सचेतना अभियानका रुपमा मनाउने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो । काठमाडौंवासीलाई खानेपानी सुविधा पु¥याउने मेलम्ची खानेपानी आयोजनाको काम समेत तीब्र गतिमा अगाडि बढिरहेको मन्त्री मगरले बताउनुभयो । अमेरिकी सरकारले सरसफाईका क्षेत्रमा सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री मगरले खानेपानीको पूर्वाधार निर्माणमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

भेटवार्तामा राजदूत अलैनाले खानेपानीको पूर्वाधार निर्माणमा सहयोग गर्न पहल गर्ने बताउनुभयो । ‘नेपालमा अहिले सरकार र व्यवस्था परिवर्तन भएको छ, त्यही अनुसार हामी सहयोग र कार्यक्रम पुनरावलोकन गर्छाै,’ उहाँले भन्नुभयो, ‘सरकारका प्राथमिकता पूरा गर्दै जनताको सेवा गर्न चाहन्छौं ।’ खानेपानी र सरसफाईको आधारभूत कुरामा प्रगति गर्न नसकिए अन्य प्रगति गर्न नसकिने बताउँदै राजदूत अलैनाले अमेरिकन सरकार सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो । महिनावारी स्वच्छताका विषयमा मन्त्री मगरले गरिरहनुभएको पहलमा राजदूत अलैनाले खुसी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: सोमवार, बैशाख २४, २०७५ /