गाउँपालिकामा बैक नहुँदा ललितपुरका स्थानीय काठमाडौ धाउन बाध्य !

रामहरि कार्की/ललितपुर, वैशाख २३ । ललितपुरमा रहेको तीन वटा गाउपालिकामा बैंक नहुदा स्थानीय काठमाडौ धाउन बाध्य भएका छन । केन्द्रीय सरकारले एक गाउँपालिमा एक बैंक स्थापना गर्ने नीति लिएको भए पनि जिल्लाको बागमती, कान्ज्योसोम र महांकाल गाउँपालिकामा अहिलेसम्म कुनै बैंक छैन । यी गाउँपालिकामा सदरमुकामबाट पुग्न आधा घन्टादेखि ४५ मिनेट मात्रै लाग्छ ।

जिल्लामा रहेको ६ वटा स्थानीय तह मध्ये तीनवटा नगरपालिकामा बैंकको पहुँच रहे पनि ३ वटा गाउँपालिकामा कुनै बैंक नपुगेकको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङतानले दैनिकीन्युजलाई बताए । केन्द्रीय सरकारको नीति अनुसार महांकाल गाउँपालिकामा सनराइज बैंकको शाखा, बागमती गाउँपालिकामा कुमारी बैंकको शाखा र कोन्ज्योसोम गाउँपालिकामा सानिमा वैंकको शाखा स्थापना गर्ने जानकारी दिए पनि अहिलेसम्म सञ्चालन भएको छैन, जसकारण स्थानीय ललितपुर गावहाल स्थित नेपाल बैंक लिमिटेड धाउनु पर्ने अवस्थामा रहेका छन । स्थानीय तहमा बैङ्किङ सेवा नहुँदा गाउँपालिकाको बैङ्किङ कारोवारका लागि पाटन धाउनुपर्ने बाध्यता बनेको हो ।

बागमती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तथा प्रवक्ता बिष्णु प्रसाद तिमल्सिनाले पनि बैंक नहुँदा नागरिकले सरकारी सेवा लिंदा भर्नुपर्ने बैंक भौचर, सामाजिक सुरक्षा भत्ता, उपभोक्तालाई रकम निकासा र रकम जम्मा, कर्मचारीलाई तलव खुवाउन र ब्यक्तिगत बैङ्किङ कारोवारका लागि सदरमुकाम पुग्नैपर्ने बाध्यता रहेको बताए ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने उद्देश्यले स्थानीय तहहरु सञ्चालन भएका छन, तर हालसम्म पनि बैङ्किङ सेवा विस्तार नहुदाँ नागरिकले भने सास्ती व्यहोरिरहेका हुन् । कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष सिङतानले भने, ‘सरकारी र व्यक्तिगत आर्थिक कारोवारका लागि सुदरमुकाम पुग्नुपर्छ, यसले समय पनि खेर गएको छ । निकासा भएकोे ठूलो रकम आफै बोकेर ल्याउनु पर्दा बाटोमा चोरी हुने खतरा उतिकै छ, आर्थिक कारोबारका लागि सुरक्षा छैन,“ अब बैंक स्थापना गर्न पहल भैरहेको उनले जानकारी दिए ।

बैंकको अभाबमा स्थानीय बासिन्दा र आफैले पनि भोग्दै आएको सास्ती समाधानका लागि राष्ट्र बैंकमा आफू गएर झकझकाएको अध्यक्ष सिङतानले बताए । ‘दक्षिण ललितपुरका स्थानीय तहमा बैङ्किङ सुविधा नहुँनु दुखद कुरो हो, हाम्रो क्षेत्रमा रहेको यो समस्यालाई मध्यनजर राख्दै यथासक्य सरकारी तथा नीजि बैङ्कका शाखा विस्तारको लागि पहल गर्ने महांकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले बताए । आफूले बैंकको लागि घर खोजी दिए पनि बैंक नै आउन अनाकानी गरिरहेको दाहालले दैनिकीन्युजसँग गुनासो गरे ।

कर्मचारी अभाव र बैङ्किङ सेवा नभएकै कारण कतिपय विकासे गतिविधि सञ्चालन हुन नसकेको जनप्रतिनिधिहरुको भनाई छ । यता जिल्लाको सदरमुकाममा रहेका ३ दर्जनभन्दा विभिन्न प्राईभेट बैंकहरुले स्थानीय तहमा सुरक्षा, इन्टरनेट र टेलिफोनको असुविधाका कारण देखाउँदै गाउँपालिका जान कठिनाइ भएको प्रतिक्रिया दिएका छन ।

प्रकाशित मिति: आइतवार, बैशाख २३, २०७५ /Sunday, May 6th, 2018, 10:56 am