कर्मचारी अभावले स्थानीय तह अस्तव्यस्त

कालिकोट, बैशाख २३ । कर्मचारीको चरम अभावले जिल्लाका स्थानीय तह अस्तव्यस्त बन्न पुगेको छ । कर्मचारी नहुँदा तीनवटा नगरपालिका र ६ वटा गाउँपालिकामा काम ठप्पजस्तै भएको छ । यतिसम्म कि लामो समयदेखि कालिकोटका नागरिकहरूले जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइ र सामान्य सिफारिससम्म लेख्ने कर्मचारीको समेत अभाव झेल्नुपरिरहेको छ । स्थानीय निर्वाचनपछि सरकारले सबै कर्मचारीलाई घरपायक सरुवा हुने अवसर दिएपछि कालिकोट कर्मचारीविहीन जिल्लाजस्तै बन्न पुगेको छ ।

पलाँता गाँउपालिकाबाट मिमराज बुढा कैलालीमा बसाइँ सर्न चाहेका थिए । उनी तीन दिनसम्म सचिवको खोजीमा सदरमुकाम मान्ममा भौंतारिए । उनले सचिव भेट्टाउनै सकेनन् । उनको भेट खाडाचक्र नगरपालिकाका कर्मचारीसँग भयो । उनीबाट बसाइँसराइको कागज नमिलेको हस्ताक्षर गर्न मानेनन् । मिमराजका लागि फेरि गाउँपालिका गएर अर्र्कोे कागज ल्याउनुपर्ने अवस्था बन्यो ।

यस्तै, रास्कोट नगरपालिले पनि कर्मचारीको अभावको चर्को समस्या खेपिरहेको छ । नगरपालिकाभित्रका नौवटा वडामा एकजना नायब सुब्बाले काम चलाइरहेका छन् । कामको चापले गर्दा चाडवार्डमा पनि उनी घर जान पाउँदैनन् । एक जना मात्र कर्मचारीलाई पर्खनुपर्ने भएकाले नागरिकले समयमा सेवा पनि पाउन सकिरहेका छैनन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: आइतवार, बैशाख २३, २०७५ /Sunday, May 6th, 2018, 7:19 am