आंशिक प्राध्यापकले आइतबार त्रिवि सिनेट बिथोल्ने !

काठमाडौं, बैशाख २२ । लामो समयदेखि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बिथोल्ने घोषणा गरेका छन् । आइतबार किर्तीपुरमा त्रिविको सिनेट हुने कार्यक्रम तय भएको छ ।

बौद्धिक शोषण बन्द गर्नुपर्ने, आगामी दिनमा आंशिक प्राध्यापक राख्ने पद्धति खारेज गर्न माग राख्दै नेपाल आंशिक प्राध्यापक संघले बैशाख १६ गतेदेखि गरेको असहयोग आन्दोलनको कारण विश्वविद्यालयका सबै केन्द्रीय तथा आंगिक क्याम्पसहरूमा पठनपाठन अवरुद्ध हुँदै आएको छ ।

शनिबार बसेको संघको विस्तारित बैठकले १४२० को दरबन्दीमार्फत् समस्या समाधान गर्ने विगतको सम्झौता कार्यान्वयन गर्ने भरपर्दो आधार नदेखिएको भन्दै आन्दोलनलाई निर्णायक बनाउने र सोही अनुसार सिनेट बहिस्कार गर्ने निर्णय गरेको आंशिक प्राध्यापक संघका एक नेताले दैनिकीन्यूजलाई जानकारी दिए ।
यस अघि शेरबहादुर देउवा नेतृत्वको सरकारले १४२० दरबन्दीमार्फत् आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय गरेको थियो । तर,
त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र सरकारको कर्मचारी संयन्त्र विगतको सम्झौता कार्यान्वयन गर्नुको साटो आंशिक प्राध्यापकहरूलाई बदनाम गर्न र आन्दोलनलाई कमजोर बनाउन लागिपरेको संघको ठहर छ ।

बैठकले अब न्युन दैनिक ज्याला लिई आंशिकको रूपमा अध्यापन नगराउने सङ्कल्प पनि गरेका छन् । ‘कि हाम्रो समान ज्यालाको सुनिश्चित गरोस् कि हाम्रो औचित्य छैन भनेर बिदा गरोस्, भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष डा. महेश गजुरेलले भने- विश्वविद्यालयले आलटाल नगरे हुन्छ, यसबाहेक अर्को बिकल्प छैन ।’ उनले जारी आन्दोलन स्वतः स्थायी नभई दशकौंदेखि न्यून दैनिक ज्यालादारीमा काम गरी बौद्धिक शोषणमा परेका पीडित प्राध्यापकहरू माग सम्बोधनमा पहल गर्न सबैपक्षसँग आग्रह पनि गरेको छ ।

प्रकाशित मिति: शनिबार, बैशाख २२, २०७५ /Saturday, May 5th, 2018, 9:30 pm