विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

काठमाडौं, वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम भएको छ । बबरमहलबाट सुरु भएको प्रभातफेरी र्याली बानेश्वरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । आज नेपाल सहित विभिन्न देशमा विविध कार्यक्रम सहित प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् ।

कोण सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले अझै प्रेस पूर्णस्वतन्त्रता प्रत्याभुति गर्न नसकेको बताए । उनले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताए । “दोषी कारवाही नहुनु, पत्रकारमाथि आक्रमण गर्नेमाथि छानविन नहुने जस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन ।” उनले भने— “प्रवृत्तिगत रुपमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका बढेका छन् । पूर्ण प्रेस स्वतन्त्रता भन्ने छैन ।”

उनले व्यवहामा प्रेस स्वतन्त्रता नभएकाले पत्रकारले अहिले पनि स्वनियन्त्रणमा समाचार लेख्नु परेको बताए । अध्यक्ष आचार्यले नेपालको संवैधानिक दृष्टिले तुलनात्मक रुपमा अहिले स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यसअनुरुप पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बन्न नसकेको उनले बताएका छन् । पत्रकारितामार्फत मुलुलकमा परिवर्तन सम्भव रहेको भन्दै उनले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता आवश्यक रहने बताए ।

कोणसभामा पत्रकार महासंघको वार्षिक पुस्तक लोकार्पण गरिएको थियो । कार्यक्रममा ललितपुर शाखाकोे लोकसंस्कृति झल्कने ढिमे बजासहितको झाँकी थियो ।

प्रकाशित मिति: बिहिबार, बैशाख २०, २०७५ /Thursday, May 3rd, 2018, 8:43 am