नेपाल एफएममा महासंघको कालो ब्यानर

काठमाडौ, बैशाख, १८ । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले नेपाल एफएममा कालो ब्यानर टाँसेर आन्दोलन थालेको छ । महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा गएको आन्दोलन टोलीले एफएमको भवनमा ब्यानर टाँगेर आन्दोलनको कार्यक्रम थालेको हो ।

श्रमजीवी पत्रकार कर्मचारीलाई ५ महिनादेखि रोकिएको तलब अबिलम्ब उपलब्ध गराउनु पर्ने, श्रमजीवी पत्रकार ऐन अनुरुप सबै सेवा–सुबिधा दिनुपर्ने, पत्रकारहरुलाई बिभिन्न झुट्टा आरोपलगाएर दुःख दिने कार्य बन्द हुनुपर्नेलगायतका माग राखिएको समितिका सहसंयोजक जन्मदेव जैसीले बताए ।

ब्यानर टाँसेपछि आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विष्टले श्रमजीवीका माग पूरा नभए तालाबन्दीसम्म उत्रिन महासंघ बाध्य हुने चेतावनी दिए । “श्रमको मुल्य नदिने मिडिया बन्द हुन्छन् भने होउन् तर हाम्रो आन्दोलन रोकिदैन,“ विष्टको भनाई थियो । टोलीमा संयोजक रामप्रसाद दाहाल, सहसंयोजक जैसी, सदस्य यम बिरहीसहित नेपाल एफएम प्रतिष्ठान अध्यक्ष बैकुण्ठ ढकाल, सचिव रघुनाथ बजागाई, सह सचिवद्वय सम्झना पौडल, लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १८, २०७५ /