विविध कार्यक्रम सहित बुद्ध जयन्ती मनाइदै

काठमाडौं, वैशाख १७ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने २ हजार ५६२ औँ बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले पनि मनाउने गरेका छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुनुहुनेछ । आजै एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप कै आधारमा सबै नेपाली एकतावद्ध भएर अघिवढ्नुपर्ने बताउनुभएको छ ।

यस्तै बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश दिँदै बुद्धले देखाएको एकताको मार्गमा सबै नेपालीलाई जुट्न आब्ह्वान गर्नुभयो ।

वुद्धजयन्तीका अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताले पनि शुभकामना संन्देश दिनुभएको छ ।

आज किरात समुदायको महान चाड उभौली पनि हो । किरात समुदायले विविध कार्यक्रम गरेर यो चाड मनाउने गरेका छन् । प्रधानमन्त्री ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख १७, २०७५ /