राजनीतिक परिवर्तनमा मगर समुदायको उल्लेख्य भूमिका छ : मन्त्री मगर

काठमाडौं, वैशाख १५। खानेपानी मन्त्री बिना मगरले नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा मगर समुदायको उल्लेख्य भूमिका रहेको बताउनुभएको छ ।

सगरमाथा मगर सेवा समाज परिवार काठमाडौंले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले राणाकाल, पञ्चायतकाल हुँदै १० वर्षे जनयुद्ध र जनआन्दोलनमा मगर समुदायले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो ।

‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण, राणा शासन र पञ्चायतकालको अन्त्य गर्ने आन्दोलन, १० वर्षे जनयुद्ध र जनआन्दोलनमा मगर समुदायले महत्वपूर्ण योगदान गरेका छन्,’ उहाँले भन्नुभयो, ‘हामीले समुदायको हकहितका लागि समेत आन्दोलन गर्यौं । तर, परिवर्तन संस्थागत गर्ने विषयमा पछि परेका छौं ।’

राज्यको नीति निर्माण तहमा मगर समुदायको बलियो उपस्थिति हुन नसकेको उहाँले बताउनुभयो ।

‘सानो आकारको मन्त्रीमण्डलमा मगर समुदायको उपस्थिति पूर्ण नभएपनि सन्तोषजनक छ,’ उहाँले भन्नुभयो, ‘थुप्रै त्याग र बलिदानले मन्त्रीमण्डलमा पुग्न सकिएपनि प्रशासनिक नेतृत्वमा मगर समुदायको पहुँच पुगेको छैन ।’

मगर समुदायका युवाले छाति नापेर सेनामा भर्ति हुने संस्कार रुपान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

मगर समुदायका युवाले छाति नाप्न जानेभन्दा पनि पढेर लोकसेवामा प्रवेश गरी प्रशासनिक नेतृत्वमा पुग्नुपर्ने उहाँले बताउनुभयो ।

‘छाति नाप्ने संस्कारले मगर समुदायका युवा समाजमा भूमिकाविहीन हुनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘अब मगर समुदायका युवा एउटा सिपाही होइन, राष्ट्र हाँक्ने कमाण्डर बन्ने गरी पढ्नुपर्छ ।’

समृद्धि र विकासको अभियानमा योगदान गर्र्ने गरी मगर समुदायका युवाले सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, बैशाख १५, २०७५ /Saturday, April 28th, 2018, 8:09 pm