एमाले–माओवादी एकता कहिले हुन्छ भन्ने ओली र प्रचण्डलाई मात्र थाहा : उपाध्यक्ष गौतम (फोटोफिचर सहित)

नवराज कार्की/ललितपुर, वैशाख १५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच हुने पार्टी एकता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मात्र थाहा भएको कुरा एमाले उपाध्यक्ष बामदेव गौतमले बताएका छन् । उनले नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्च तथा नेकपा माओवादी केन्द्र सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चद्वारा संयुक्त रुपमा शनिवार ललितपुरको गोदावरीमा आयोजन गरिएको सिन्धुलीवासी मैत्रीपूर्ण वनभोज कार्यक्रममा बताएका हुन् । एमाले पार्टी ४५ औं पटक पार्टी एकीकरण गरेको स्मरण गर्दै माओवादी केन्द्रसँग हुने पार्टी एकीकरण ४६ औं हुने बताउदै भने– ‘यस अघिका पार्टी एकीकरण समानता र सम्माजनक रुपमा भएको, पछिल्लो पटक माक्सवादी र एमालेबीच पार्टी एकता हुँदा केन्द्रीय सदस्यमा दुवै पार्टीका तर्फबाट १७/१७ जना भएको छ ।’ नेपालबाट समाजवादको ज्योती विश्वमा फैलिएको र अहिले एमाले र माओवादी केन्द्र बीच हुने पार्टी एकीकरण किन ढिला भएको आफूलाई थाहा नभएको बताए । अब पार्टी तत्काल एकीकरण गर्न तलबाट नै दुई पार्टी एकीकरण गरेर नेतृत्वलाई दबाब दिन कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अग्नि सापाकोटाले तलबाट पार्टी एकताको घोषणा गर्ने कुरा बैज्ञानिक नभएको औल्याएका थिए । कार्यक्रममा प्रदेश सांसद विनोद खडका, पूर्व सभासद निरु दर्लामी, वाम नेताहरु कमल दाहाल, राम थापा, अशोक कुमार ठकुरी, अशोक गिरी विद्यार्थी नेताहरु नवराज कार्की, देवकी कार्की, गंगा दाहाल लगायतको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्र सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चका उपाध्यक्ष प्रमोद दाहालका अनुसार मञ्चको वार्षिक क्यालेण्डर अनुसार वनभोज कर्यक्रम आयोजना गरिएको र कार्यक्रममा सिन्धुली जिल्लाका राजधानीमा विभिन्न पेसा व्यवसाय गर्दै आएका करिब ४०० जनाको उपस्थिति रहेको जानकारी दिए । बनभोज कार्यक्रममा सांस्कृतिक नृत्यहरु समेत देखाइएको थियो ।

तस्विरमा

प्रकाशित मिति: शनिबार, बैशाख १५, २०७५ /Saturday, April 28th, 2018, 3:45 pm