गाउँ चम्किए, सदरमुकाम खस्किए

काठमाडौं, वैशाख १५ । एक वर्ष अघिसम्म तेह्रथुम छथर गाउँपालिका हमरजुङका हेम पाक्साँवा विभिन्न काम लिएर पटकपटक सदरमुकाम म्याङलुङ पुग्ने गर्थे। स्थानीय सडक उपभोक्ता समितिको अध्यक्ष रहेका पाक्साँवा योजना सम्झौतादेखि प्राविधिक योजनालगायत विभिन्न चरण पार गर्दै कामको भुक्तानी लिइन्जेलसम्म कम्तीमा १२ पटकसम्म सदरमुकाम धाउँथे। तर, स्थानीय तह अधिकारसम्पन्न भएपछि भने उनलाई हाइसञ्चो भएको छ। भन्छन्, ‘सदरमुकाममा आउँदा कहिले काम पूरा होला, कति दिन बस्नुपर्ने हो भन्ने सधैंको पिरलो हुन्थ्यो अहिले मुक्त भइयो।’ यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

तेह्रथुमका छथर र आठराईलगायत ठाउँबाट काम विशेषले सदरमुकाम आउँदा बासै बस्नुपर्ने स्थानीयकै कारण म्याङलुङमा सधंै भीडभाड हुने गरेको थियो। सदरमुकाममा रहेका होेटलहरू पनि खचाखच हुन्थे। तर, अहिले परिस्थिति ठ्याक्कै उल्टो भएको छ। स्थानीय सरकार गठनसँगै स्थानीय तहका केन्द्र रहेका गाउँमा चहलपहल छ। सदरमुकाम भने सुनसान प्रायः बनेका छन्।

संघीयताको कार्यान्वयनसँगै स्थानीय तहमा धेरै अधिकार गएर स्थानीय सरकार गठन भएको छ। यसको प्रभाव सदरमुकाममा देखिन थालेको म्याङलुङ बजारका व्यापारी रुपक सुवेदीले बताए। ‘एक वर्षअघि दैनिक २० देखि ५० हजार रुपैयाँसम्मको कपडा बिक्री हुन्थ्यो, हिजोआज त स्वात्तै घट्यो।’

कर्मचारी र सेवाग्राहीसमेत गाउँकेन्द्रित हुँदा सदरमुकामको बजारलाई असर पुगेको उद्योग वाणिज्य संघ तेह्रथुमका पूर्वअध्यक्ष महेन्द्र काफ्लेले बताए। भने, ‘तहमै सबै सेवा पाइने भएपछि सदरमुकामको माग खस्केको छ।’ कृषि, शिक्षा, स्वास्थ्य, पशु, खानेपानी, सिँचाइ, महिला, घरेलु तथा साना उद्योगको सेवा र बैंकिङ कारोबार स्थानीय तहमा हुन थालेपछि सदरमुकाम सुनसान भएको अनुभव काफ्लेले सुनाए।

त्यसैगरी भोजपुर सदरमुकामवासीको अनुभव पनि यस्तै छ। दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुर सदरमुकामको चहलपहल दिनानुदिन घटदै गएको छ। जिल्लाकेन्द्रित अधिकार स्थानीय तहमा गएसँगै सर्वसाधारणको आवतजावतमा पनि कमी हुन थालेको छ।

भोटेपसलस्थित हार्डवेयर व्यावसायी अर्जुन राईले सदरमुकामको चहलपहल २५ प्रतिशतसम्म घटेको बताउँदै भने, ‘हाम्रो व्यापारमा पनि निकै कमी आएको छ।’ सदरमुकामका होटल व्यवसायमा पनि असर पुगेको छ। तहमा अधिकार केन्द्रित भएपछि कर्मचारी, सर्वसाधरणको सदरमुकाम आउने संख्या घटेको देउरालीका होटल सञ्चालक तितप्रसाद राईले बताए। उनले भने, ‘स्थानीय तहको सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालय पुगेका छन्। बजार विस्तार भएको छ। यता आउनुपर्ने कारण नै सकिएको छ। हाम्रो व्यापार पनि खुम्चिएको छ।’

मासिक २०÷२५ जना कर्मचारीलाई प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले खाना खुवाइरहेका अर्का होटल व्यावसायी पुस्कर तिम्सिनाले स्थानीय तहको संरचनासँगै कर्मचारी सबै गाउँ गएपछि व्यवसाय कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको सुनाए।

निजामती कर्मचारी गाउँतहमा विषयगत कार्यालयमा गएपछि कतिपयले व्यवसाय नै परिवर्तन गरेका छन्।

होटेल, खाद्य सामग्री व्यापार र घरबहालबाट उपार्जन हुने आम्दानीको स्रोत प्रतिदिन घट्न थालेको बताउँदै बीचबजार डाडाँगाउँका सफल सेन्चुरीले भने,‘स्थानीय तहको चुनाव अघिभन्दा चुनावपछि अझ धेरै गतिविधि गाउँकेन्द्रित भएकाले पनि सदरमुकामको चहलपहल धेरै घटेको हो।’

जिल्ला तहमा हुने अधिकार स्थानीय तहमा गएपछि सदरमुकाममा बस्दै आएका सर्वसाधारण गाउँ फर्कने मनस्थितिमा पुगेका पौवादुङ्मा गाउँपालिकाका केशव ढकालले सुनाए। उनका अनुसार गाउँतहमा विषयगत सरकारी कार्यालय पुगेसँगै सदरमुकाम धाउने ग्रामीण भेगका मानिसको आवतजावतमा पनि कमी आएको छ।

बसाइँ सर्ने रोकिए

तराई झर्ने योजनासहित पाथीभरा याङ्वरक गाउँपालिका-२ का थेचम्बुका वीरबहादुर भट्टराईले दुई वर्षअघि पाँच लाखमा घरजग्गा बेचे। त्यसपछि उनी परिवारसहित झापा बसाइँ सर्ने सुरसार गर्दै थिए। केही दिनपछि संघीयता कार्यान्वयन भयो र थेचम्बुलाई गाउँपालिकाको केन्द्र तोकियो। अब उनलाई जन्मथलो छाड्न मन लागेन। एक महिनाअघि आफैंले बेचेको जग्गा पुनः किन्न खोज्दा ११ लाख दाम गरियो। अहिले भट्टराईको परिवार बसाइँ नसरी सोही ठाउँमा एउटा घर बन्धकी लगाएर व्यवसाय गरी बसेको छ।

फक्ताङलुङ गाउँपालिकाले केन्द्र तापेथोकमा आवासका लागि घर नपाएपछि अध्यक्ष सरोज लिम्बू जीर्ण घर मर्मत गरी भाडामा बसिरहेका छन्। गाउँपालिका कार्यालयका लागि थप दुई कच्ची घर मर्मत गरी काम चलाइएको छ। ‘मुलुक संघीय संरचनामा गइसकेपछि गाउँघरको महत्व पनि बढेको छ’, उनले भने, ‘हाम्रोजस्तो धेरै स्थानीय तहले जीर्ण संरचना मर्मत गरेर काम चलाइरहेका छन्।’

स्थानीय चुनावपछिको चहलपहलले गाउँमा उमंग छाएको आठराई त्रिवेणी गाउँपालिका प्रमुख विश्वनाथ सिटौला बताउँछन्।

भारतसँग सीमा जोडिएको सिदिङ्वा गाउँपालिका जिल्लाको सबैभन्दा दुर्गम मानिन्थ्यो। यो क्षेत्रका नागरिकलाई सदरमुकाम पुग्न तीन दिनसम्म लाग्थ्यो। सडक, बिजुलीजस्ता विकासमा पूर्वधार नपुगेको हुँदा धेरै मानिस बसाइँ सरेर सदरमुकाम तथा तराई झर्थे। तर, अहिले गाउँबाटै सबै काम हुन थालेपछि भने गाउँमा चहलपहल बढेको गाउँपालिका उपप्रमुख जीवन ताम्लिङले बताए। ‘पहिले सबै काम सदरमुकाममा मात्रै हुन्थ्यो’, ताम्लिङ भन्छन्, ‘सानो काम पर्दा पनि ठूलो रकम र समय खर्चेर जिल्ला जानुपथ्र्यो, अहिले स्थानीय तहबाटै सबै काम हुने भएकाले सबैको जमघट यतै हुन्छ।’ गाउँपालिकाको केन्द्र बनेपछि जनप्रतिनिधि, कर्मचारी, संघसंस्थालगायतको उपस्थितिले व्यापारसमेत फस्टाएको छ।

बाहिरका मानिसले घरसमेत बनाउन थालेपछि मिक्वाखोला गाउँपालिका केन्द्र साँवाका लोकेन्द्र थुलङले यो वर्षदेखि बोर्डिङ स्कुलसमेत सञ्चालन गरेका छन्।

गाउँपालिकामा चलहपहल बढेका बेला जिल्ला सदरमुकाम भने सुनसान छ। सदरमुकाम फुङलिङमा कपडा पसल सञ्चालन गर्दै आएका लीलानाथ पौडेल भन्छन्, ‘एक वर्षयता बजारमा मानिसको चहलपहल आधाले घटिसकेको छ।’ फुङलिङकै माथिल्लो रोडमा किराना पसल चलाउने हर्कमाया लिम्बूले पनि व्यापारमा पनि कमी आउन थालेको बताइन्।

जनप्रतिनिधि चुनिएसँगै सदरमुकाममा रहेका साविक गाविस सचिव सबै गाउँ फर्किए। सचिवमार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड सबै गाउँ फर्कियो। सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक नेता कार्यकर्ता प्रायःजसो गाउँ फर्किए। दलका जिल्ला कार्यालय सुनसान छन्।

यसअघि सदरमुकाममा बसेर फिल्डमा कमै देखिने कर्मचारी गाउँ तथा नगरपालिकासँगै वडास्तरमै पुग्न थालेका छन्। अहिले सबै विषयगत कार्यालयसमेत खारेज भई गाउँ जाने तरखरमा छन्। सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी, होटलजस्ता व्यवसाय गर्नेहरू प्रत्यक्ष मारमा परेका उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण थापा बनाउँछन्।

तरकारी, दाल, चिनी, चामललगायत दैनिक उपभोग्य वस्तु र अन्य निर्माण सामग्री खपत पनि घटेको थापाको भनाइ छ। ‘गाउँबाट आएर नागरिकले सदरमुकाममा ठूलो लगानी गरेका छन्’, थापा भन्छन्, ‘यति ठूलो लगानी भएको सदरमुकामको भविष्यबारे पनि सरकारले सोच्नुपर्छ।’

लामो समयदेखि सदरमुकाममा व्यापार व्यवसाय गर्दै आएकाले बजार छाड्ने क्रम बढेको उनको भनाइ छ।

घट्यो व्यापार

सधैं चहलपहल हुने इलाम सदरमुकाको पुरानो जिल्ला विकास समितिमा खासै सेवाग्राही आउँदैनन्। नाम परिवर्तन भएर जिल्ला समन्वय समिति बनेपछि सेवाग्राहीको चाप नै छैन।

विकास निर्माणका सबै काम स्थानीय तहबाटै भएपछि इलाम सदरमुकामको व्यापार ओरालो लागेको छ। उद्योग वाणिज्य संघ इलामका अध्यक्ष आनन्द कट्टेल भन्छन्, ‘जिल्लास्तरीय काम स्थानीय तहबाट भएपछि दैनिक उपभोग्य बस्तुको बिक्रीसमेत घटेको छ।’

उपभोक्ता समितिको कामका लागि समेत सदरमुकाम नै धाउनुपर्ने अवस्था हटेको छ। सबै काम गाउँबाटै भएपछि होटलमा आउनेको संख्या पनि घटेको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौड्यालले बताए। भने, ‘गाउँबाट आउनेले खाजा नास्ता खाने र एक रात बस्ने गरेका थिए, अहिले आउन छोडेका छन्।’

सदरमुकाममा चहलपहल घटेपछि स्थानीय तहमा कामको चाप बढ्दै गएको चुलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत छवि खतिवडाले बताए। इलामका गाउँमा रहेको स्थानीय तहमा चहलपहल निकै बढेको सूर्योदय नगरपालिका फिक्कलकी हेममाया प्रधान बताउँछिन्। भन्छिन्, ‘स्थानीय तहका वडाहरूमा पनि सेवाग्राहीको भीड निक्कै बढेको छ।’

देउमाई नगरपालिका मेयर सूर्य पोखरेलले भने, ‘तहका केन्द्र भएका ठाउँले सदरमुकामकै झल्को दिन थालेका छन्।’

प्रकाशित मिति: शनिबार, बैशाख १५, २०७५ /Saturday, April 28th, 2018, 7:09 am