महिलामैत्री शौचालय निर्माण अभियान सुरु गर्नुपर्छ : मन्त्री बिना मगर

सिन्धुली, बैशाख १३ । खानेपानी मन्त्री बिना मगरले सार्वजनिक शौचालयलाई महिलामैत्री बनाउन अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ ।

सिन्धुलीलाई देशकै ४९ औ खुलादिसामुक्त जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले महिलामैत्री शौचालय नहुँदा समस्या हुने गरेको बताउनुभयो । `सार्वजनिक शौचालय महिलामैत्री छैनन्, जसले गर्दा महिनावारी भएका महिलालाई समस्या हुने गरेको छ,´ उहाँले भन्नुभयो, ´खुलादिसामुक्त घोषणापछि अब महिलामैत्री शौचालय निर्माण अभियान सुरु गर्नुपर्छ ।´

खुलादिसामुक्त घोषणा कागजमा नभई व्यवहारमा गर्नु महत्वपूर्ण रहेको मन्त्री मगरले बताउनुभयो । `सरसफाई हाम्रो चेतना र बानीसङ्ग जोडिएको छ, तसर्थ हामीले संस्कार र बानी सुधार्नुपर्छ,´ उहाँले भन्नुभयो, `हामीले खुलादिसामुक्त जिल्ला त घोषणा गर्यौ, अब सरसफाईलाई ध्यान दिने जिम्मा सिन्धुलीवासीको हो ।´ सरसफाई मानिसको स्वास्थ्य, ज्यान र आयु जोडिएको उहाँले बताउनुभयो ।

वर्तमान सरकार ५ वर्षसम्म चल्ने स्थिर प्रकृतिको भएकाले जनताका सपना पूरा हुने मन्त्री मगरले बताउनुभयो । `खानेपानीका समस्या समाधानका लागि सरकारले दीर्घकालीन योजना बनाइरहेको छ,´ उहाँले भन्नुभयो, `जनताको घरदैलोमा खानेपानी सुविधा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।´ खानेपानी सुविधा समृद्धिको मुख्य आधार भएकाले सरकारले खानेपानीलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहिबार, बैशाख १३, २०७५ /Thursday, April 26th, 2018, 7:31 pm