एकै गाउँपालिकाका ६ जलविद्युत् आयोजना बन्द

बैतडी, वैशाख १० ।  ६ वर्ष अघिसम्म बैतडीको सिगास गाउँपालिकाका विभिन्न वडा झिलिमिली देखिन्थे । वडैपिच्छे जस्तो निर्मित लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले गाउँघर झलमल्ल थिए । अहिले गाउँपालिकाका प्रायःजसो सबै वडावासी दियालो, टुकी र सौर्यबत्तीको उज्यालोमा निर्भर छन् । यो खबर आजको अन्नपूर्ण पोष्टबाट लिएका हौं ।

मर्मतसम्भार नहुँदा लघुजलविद्युत् आयोजना सञ्चालन हुन नसकेर बन्द भएपछि सिगासेवासी अँध्यारोमा बस्न बाध्य भएका हुन् । गाउँपालिकाका ७ लघुजलविद्युत् आयोजनामध्ये ६ वटा बन्द रहेको वडा नम्बर ८ का वडाध्यक्ष कर्णबहादुर साउदले जानकारी दिए । उनले भने, ‘केही आयोजना मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा भए पनि केही आयोजना सञ्चालनमा ल्याउन नसकिने अवस्था छ ।’

०५८ सालमा निर्माण भएको सिगास गाउँपालिका-८ स्थित १० किलोवाट क्षमताको सिराडीखोला लघुजलविद्युत् आयोजना र सोही वर्ष निर्माण भएको ८ किलोवाट क्षमताको बल्लेखोला लघुजलविद्युत् आयोजना बन्द अवस्थामा छन् । ०६० सालमा निर्माण भएका सिगास गाउँपालिका-७ स्थित १८ किलोवाट क्षमताको नेउलालीगाड लघुजलविद्युत् आयोजना र ०६५ मा निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमताको न्वाघरीगाड लघुजलविद्युत् आयोजना पनि बन्द छन् ।

यस्तै, वडा नम्बर ६ स्थित २२ किलोवाट क्षमताको थलालीगाड लघुजलविद्युत् आयोजना र वडा नम्बर १ स्थित १५ किलोवाट क्षमताको इरानागडा आयोजना बन्द छन् । सिगास-७ का भोजराज अवस्थीले भने, ‘स्थानीयस्तरमा पनि विद्युत् आयोजना सञ्चालनका लागि कुनै ठोस योजना भएन ।’

लघुजलविद्युत् आयोजना बन्द हुँदा विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालनदेखि गाउँमा सञ्चालित मिलसमेत प्रभावित बनेको स्थानीयको गुनासो छ।

तीन आयोजना मर्मतको तयारी

गाउँपालिकाले बन्द रहेका तीन वटा आयोजना मर्मत गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । २२ किलोवाटको थलालीगाड लघुजलविद्युत् आयोजना, १८ किलोवाट क्षमताको नेउलालीगाड लघुजलविद्युत् आयोजना र १६ किलोवाट क्षमताको न्वाघरीगाड लघुजलविद्युत् आयोजना मर्मतको तयारी भएको वडा नं ८ का वडाध्यक्ष कर्णबहादुर साउदले बताए । उनले भने, ‘यी तीन वटा चालु आर्थिक वर्षमै मर्मत गर्ने गरी बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा रहेका लघुजलविद्युत् आयोजना सञ्चालनको हामीले पहल गरिरहेका छौं ।’ सिगास-७ का टीकादत्त अवस्थीले आयोजना मर्मत गरेर समुदायमा व्यवस्थित समिति बनाएर सञ्चालन गर्नुपर्ने सुझाएका छन् । उनले भने, ‘व्यवस्थापन गर्न नसके पहिलाको जस्तै समस्या आउँछ ।’

प्रकाशित मिति: सोमवार, बैशाख १०, २०७५ /Monday, April 23rd, 2018, 7:16 am