रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरु

केशव घिमिरे/ललितपुुर, बैशाख ४ । वर्षा र सहकालका देवता रूपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । मंगलबार पुल्चोकस्थित मच्छिन्द्र बःहालमा मच्छिन्द्रनाथ देवतालाई रथमा विराजमान गराएसँगै जात्रा सुरु भएको हो ।

मंगलबार दिउँसो ज्यापुु समाज यल, ललितपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतले आयोजना संयक्त रुपमा कार्यक्रम आयोजना गर्दै लामो जात्राको रुपमा परिचित रथ जात्रालाई सभ्य रुपमा सञ्चालन गर्नको लागि सबै निकायले तयारी चुस्त पारेको बताए ।

कार्यक्रममा बोल्दै गुठी संस्थान ललितपुरका शाखा प्रमुख शैलेन्द्र पौडेलले रथमा विराजमान गराइएको भोलिपल्टदेखि गाईदान, शान्तिस्वस्ति लगायत पूजा गरिने चलन रहेको जानकारी दिए । उनले भने, ‘मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएपछि ६ गतेसम्म परम्परागत पूजा गरिने चलन छ, ६ गते मध्याह्नपछि मात्रै शुभ साइतअनुसार रथयात्रा आरम्भ हुनेछ ।’ उनले रथ यात्राको पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पु¥याएर त्यहीँ राख्ने परम्परा रहेको बताए ।

ज्यापु समाजको अध्यक्ष प्रेम महर्जनले साइतअनुसार मंगलबजार, सुन्धारा, चक्रवहिल हुँदै लगनखेलस्थित थटीटोलमा लगेर राखिने जानकारी दिए । ‘त्यहाँ लगेपछि फेरि नयाँ साइत हेरेर भोटो देखाउनका लागि जावलाखेलतर्फ लगिन्छ,’ उनले भने ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्रदेव, काठमाडौंका बधुदत्त आचार्य र ललितपुरका ज्यापुले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ /Tuesday, April 17th, 2018, 9:42 pm