एकता संयोजन समितिको बैठक सकियो, मिल्न बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

काठमाडाैं , वैशाख ४। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ ।

पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले पार्टी एकताको लागि बनेका कार्यदलको प्रतिवेदनलगायतका विषयमा छलफल गरेको थियो ।

दुइ पार्टीबीच आउँदो आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर एकता गर्ने निर्णय भए पनि एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, चुनाव चिह्न के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने बारेमा सहमति जुटेको छैन ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ /