सांसदलाई मुद्दा लागे स्वतः निलम्बित, कारबाही भए नयाँ निर्वाचनबाट पदपूर्ति

काठमाडाैं, बैशाख ४ । कुनै पनि सासंदलाई फौजदारी अभियोगमा मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था प्रतिनिधिसभा नियमवालीमा समावेश गर्ने तयारी गरिएको छ ।

विगतमा मुद्दा लागिसकेर जेलमै रहे पनि ससंद पद रहिरहने व्यवस्था थियो तर अबका दिनमा मुद्दासम्बन्धमा अन्तिम फैसला नभएसम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलको जानकारी दिए ।

उनका अनुसार फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने छ भने दोषी ठहरिए पदमुक्त हुने व्यवस्था कायम गर्ने तयारी छ ।

कुनै सासंद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पद पूर्ति गर्ने व्यवस्था नियमावलीले गर्न लागिएको उनले जानकारी दिए ।
यसअघि नैतिक पतन देखिने मुद्दाको हकमा मात्रै स्वतः निलम्बन हुने व्यवस्था थियो भने संसद पदपूर्ति हुने व्यवस्था थिएन ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ /