एकता संयोजन समितिको बैठक सुरु

काठमाडौं, वैशाख ४ । एकता संयोजन समितिको बैठक वालुवाटारमा सुरु हुँदैछ । विवादित विषयहरु टुंगो लगाएर वैशाख ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रम तथा एमाले अध्यक्ष केपी ओलीबीचको छलफलमा वैचारिक र सांगठनिक विषयमा सहमति जुटाउन एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको हाे ।

विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न एकता संयोजन समितिको बैठक बोलाइएको हो । यसअघि दुबै कार्यदलले पार्टीको विधान र तत्कालिन राजनीतिक प्रतिवेदन (विचार) को मस्यौदा दुबै अध्यक्षलाई बुझाएका थिए ।

दस्तावेजमा दुबै पार्टीको इतिहासको सम्मान गर्दै संश्लेषण गरेर नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने अडान माओवादीले राखे पनि एमालेले भने जनयुद्दको स्पिरिट र मर्मलाई आत्मसात नगरेको माओवादीको आरोप रहेको छ ।

केही समयदेखिको संवादहीनताको बीचमा बैठक हुन लागेकाले चासाेका साथ हेरिएको छ । बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ /