एमाले स्थायी कमिटिको निर्णय यस्तो छ

काठमाडौं, वैशाख ४ । प्रमुख सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको बैठक सोमबार बसेको थियो। बैठक पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

एमालेले प्रस्तावित वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग अधिकतम समझदारी निर्माण पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘बैठकले एकतालाई पछि धकेल्ने अवस्था आउन दिन नहुने निर्णय गरेको छ ।’ नेता सुवास नेम्वाङले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, नेता सुवास नेम्वाङ, महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए ।

दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकीकरण सम्बन्धमा आजै बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा आपसी छलफल भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ /Tuesday, April 17th, 2018, 6:17 am