निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

काठमाडौं , वैशाख ३ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । चैत २० मा मूल्य वृद्धि गरेको निगमले सोमवार फेरि मूल्य बढाएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार सोमवार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा मूल्य वृद्धि गरिउको बताए ।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मुल्य १ सय ६ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ८७/८७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यसघि प्रतिलिटर पेट्रोलको मुल्य १ सय ५ रुपैयाँ, डिजेल ८५, मट्टितेल ८५ रुपैयाँ थियो ।

नयाँ मुल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ९१ पैसा नाफा छ । डिजेलमा भने घाटा छ । डिजेलमा प्रतिलिटर ०.७६ रुपैयाँ घाटा रहेको प्रवक्ता गोइतले बताए ।

निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मुल्य लागु गरेको थियो । स्वचालित मुल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । निगमले सोहीअनुसार मुल्य समायोजन गर्दै आएको छ ।

यसअघि २ अप्रिलमा पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको थियो । अप्रिल १५ सम्म पाक्षिक नाफा २० करोड रुपैयाँ थियो । नयाँ मुल्यसुची अनुसार पाक्षिक नाफा २१ करोड २३ लाख रुपैयाँ पुगेको जनाएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /