नेप्से संगै ह्वात्तै बढ्यो कारोबार , यस्तो छ कारण

काठमाडौँ, बैशाख ३ । २०७५ को पहिलोे शेयर कारोबार दिन नेप्से सामान्य अंकले वृद्धि भएको नेप्से २०७५ को तेस्रो दिन अर्थात् बैशाख ३ गते सोमबार भने ह्वात्तै बढेको छ । दिनभरको उतारचढाव बीच दिउसो ३ बजे कारोबार बन्द हुँदासम्म नेप्से १७ दशमलव ४२ अंकले वृद्धि भएर १ हजार २ सय ९७ दशमलब ५७ अंकमा पुगेको छ ।

नेप्से संगै यसदिन कारोबार पनि बढेको छ । अघिलो दिन कुल ६ लाख ५५ हजार ३ सय १४ कित्ता खरिद बिक्री हुँदा ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँको कारोबार भएकोमा यस दिन १६१ कम्पनीको ११ लाख ७८ हजार ७ सय ३८ कित्ता शेयर किनबेच हुँदा ५७ करोड ६८ लाख ६१ हजार ८ सय ६३ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूह मध्ये अन्य बाहेक सबै समूह बढेका छन् । सबै भन्दा बढी बिमा समूह २९३.२४ अंकले बढेको छ भने सबै भन्दा कम बैंकिंग समूह ४.२८ अंकले बढेको छ ।

यस दिन प्रभु इन्सुरेन्स, प्रिमियर इन्सुरेन्स, गुराँस लाइफ इन्सुरेन्स लगायतका कम्पनीको शेयर सर्बाधिक कारोबार भएका छन् ।

यस दिन प्रुडेन्सियल इन्सुरेन्स कम्पनि( १०%), ग्लोबल आइएमई लघुवित्त(९.९९%), नेपाल इन्सुरेन्स लगायत ३९ कम्पनीका लगानी कर्ताहरुले ५ प्रतिशत भन्दा बढीले बढेको छ ।

यस दिन नेपाल लाइफ इन्सुरेन्स कम्पनीका प्रमोटर शेयरका शेयर धनीले सर्बाधिक ९.९५४२ अंकले गुमाएका छन् भने राधि हाइड्रो, नेपाल बंगलादेश बैंक लगायत २७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

धितोपत्र बोर्डको सक्रियतामा आइतबारदेखि बजारमा सेमि अनलाइन प्रणाली आरम्भ गरिएको छ जसबाट लगानीकर्ताले एसएमएस तथा अनलाइनमा बसेर सेयर किन्ने र बेच्ने आदेश दिन सक्ने गरिएको छ । पुँजी बजारमा धमाधम सुधारका कार्य हुदै गरेकोले लगानीकर्ताहरु उत्साहित भएको अनुमान छ ।

नयाँ बजेट बनाउने तरखर पनि सुरु भएको र आर्थिक वर्षमा विनियोजन भएका पैसा खर्च गर्ने क्रम पनि बढ्न थाल्दा रकारी ढुकुटीमा रहेको पैसा बैंक तथा वित्तीय संस्था आउने र तरलता अभावको समस्या निक्कै सहज हुने र पुजी बजारमा राम्रो प्रभाव पर्ने अनुमान हुन थालेको छ ।

यस कारणले गर्दा लगानीकर्तामा आत्मविश्वास बढेकोले आजको बजार वृद्धि भएको अनुमान छ ।

 

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /