समाजवादी शिक्षाका अन्तर्वस्तु

नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेसँगै नेपाली समाजको अबको यात्रा समाजवादी यात्रा हुने निश्चित देखिन्छ । राजनीति स्थायित्व, सुशासन र आत्मनिर्भर अर्थतन्त्रको विकाससँगै भोलि समाजको चरित्र पनि बदलिन सक्छ । यदि यसो भयो भने शिक्षाको स्वरुप र चरित्रमा पनि आमुलपरिवर्तन हुनु वा गर्नु अपरिहार्य हुन्छ ।

त्यतिखेर शिक्षालाई क्रमशः जनज्ञानमा आधारित बनाएर जनताद्वारा व्यवस्थापन गर्दै समतामूलक सामाजिक व्यवस्थाको अन्तर्वस्तुका रूपमा विकास गर्नुपर्ने हुन सक्छ । त्यतिबेला शिक्षाले सापेक्ष स्वतन्त्रताको मूल्यलाई आत्मसात गर्न थाल्दछ । प्रतिस्पर्धामा जोड दिन्छ; गतिशीलतामा जोड दिन्छ र मुलुककै साझा शैक्षिक प्रणालीका रूपमा विकास हुन पुग्दछ ।

देवीदत्त पौडेल

समाजवादी व्यवस्था वस्तु र सेवाको उत्पादन र वितरण गर्ने व्यवस्था हो । शिक्षा उत्पादनसँग जोडिनु समाजवादी शिक्षाको पहिलो विशेषता हो । नेपालमा यतिखेर आर्थिक हैसियतका आधारमा पठनपाठन हुने शैक्षिक नीति चलिरहेको छ । द्वैध शिक्षानीतिका कारण फरक मनोविज्ञान, फरक दृष्टिकोण र फरक बुझाइका मानिस उत्पादन भइरहेका छन् । समाजवादी शिक्षाको आत्मा नै आम शिक्षा हो । शिक्षामा आम जनताको न्यायसङ्गत पहुँच स्थापित गर्न शिक्षामा निजी क्षेत्रलाई प्रवेश गराउने राज्यका नीति विरुद्ध सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

समाजवादी शिक्षा उत्पादन र श्रमसँग जोडिएको निःशुल्क शिक्षा पनि हो । यसले सिङ्गो समाजलाई विशाल विद्यालय बनाउन सक्नुपर्छ । बौद्धिक श्रम र शारीरिक श्रमबीचको भिन्नता कम गर्न सक्नुपर्छ । गाउँ र सहर, किसान र मजदुरबीचको भिन्नतालाई पनि कम गर्न सक्नुपर्छ ।

सर्वप्रथम आधारभूत शिक्षा अनिवार्य र निःशुल्क गर्न नेपालको संविधान २०७२ ले दिएको संवैधानिक हकलाई सुनिश्चित गर्न जरुरी छ । त्यसका लागि क्रमशः किताब, कापी, कलम, खाजा निःशुल्क गर्नुपर्दछ । निम्न वर्गका अभिभावकलाई प्रोत्साहन भत्ता दिनुपर्छ । अनलाइन र दूर शिक्षाको व्यवस्था गर्नुपर्छ । घुम्ती विद्यालयहरू स्थापना गर्न थाल्नुपर्छ । निजी क्षेत्रले खोलेका विद्यालयहरू नाफा नलिने विद्यालयका रूपमा रूपान्तरण गर्नुपर्छ र त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीको व्यवस्थापनको जिम्मा राज्यले लिनुपर्छ । त्यसका लागि सर्वप्रथम सामुदायिक शिक्षालाई गुणस्तरीय र जनताको पहिलो रोजाइका रूपमा विकास गर्न जरुरी छ ।

समाजवादी शिक्षामा शिक्षा मौलिक र देशको भौगोलिकता अनुरुप व्यावहारिक हुनुपर्दछ । यो वैज्ञानिक र वस्तुवादी पनि हुन जरुरी छ । त्यसैगरी मातृभाषामै पठनपाठनको पूर्ण व्यवस्था गर्नुपर्छ । शिक्षाको सम्पूर्ण भार राज्यले लिनुपर्छ । शिक्षालाई समान र जनमुखी बनाउनुपर्छ । शिक्षाले स्थानीय विशेषतालाई आधार मान्न र विश्वव्यापीकरणलाई आत्मसात गर्न सक्नुपर्छ ।

वैज्ञानिकता, राष्ट्रियता र जनवाद समाजवादी शिक्षाका आदर्श हुन् । समाजवादी शिक्षाले व्यक्तिवादी सोच र स्वार्थीपनको अन्त्य गर्दै विद्यार्थीलाई सामूहिक भावनाको विकास गर्न सिकाउँछ । जनतालाई प्रकृति, समाज र आधुनिक प्रविधिको ज्ञान दिन्छ । समाजवादी शिक्षाको सारपक्ष नै शिक्षा र श्रमको एकत्व हो । यसले छिटो काम पाउने र खानलाई दाम आउने शिक्षा खोज्दछ । यसका लागि पनि कृषि, जडीबुटी, वन, जलस्रोत, पर्यटन र खनिजहरूको संवर्धन, विकास र सदुपयोगतर्फ ध्यान दिनुपर्छ ।

समाजवादी शिक्षा जीवन सिकाउने, जिउने कला सिकाउने, स्वतन्त्रता सिकाउने, अधिकार खोज्न सिकाउने, कर्तव्य पूरा गर्न हौसाउने, अरूको सम्मान गर्न प्रेरित गर्ने, जनता र राष्ट्रप्रति माया गर्न सिकाउने हुनु जरुरी छ । यसका लगि भौतिकता, द्वन्द्ववाद र वर्गीय दृष्टिकोण स्वीकार गर्न सक्नुपर्छ । साथै समाजवादी शिक्षा कम्युनिस्टहरूको मात्रै हो भन्ने जडसूत्रीय चिन्तन हटाउनुपर्छ ।

समाजवादी शिक्षानीति प्रारम्भ गर्नु अघि शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिने, ठूला प्राविधिक विश्वविद्यालय खोल्ने, भौतिक पूर्वाधारको विकास गर्ने, नयाँ अनुसन्धान केन्द्रको स्थापना गर्ने, नयाँ ज्ञानको आविष्कार गर्ने र त्यसको रक्षा, प्रयोग र विकास गर्ने काम गरिसक्नुपर्छ । शिक्षण सिकाइका कूल पाठ्यभारमध्ये निश्चित प्रतिशत पाठ्यभार श्रमसँग जोड्नुपर्छ ।

समाजवादी शिक्षा लागू हुँदै जाँदा शिक्षण पद्धति पनि अनुसन्धानमूलक तथा व्यावहारिक ज्ञान र सीपमा आधारित हुँदै जानुपर्छ । स्थानीय र विश्वव्यापी ज्ञानलाई जोड्ने अनुभव केन्द्रीत शिक्षण विधि अपनाउनुपर्छ । प्रकृतिबाट सिकाउने, क्रियाकलापबाट सिकाउने, परियोजनाकार्यबाट सिकाउने गर्नुपर्छ । त्यसैगरी समालोचनात्मक विधिबाट सिकाउनुपर्छ र मूल्याङ्कन निरन्तर र उत्पादक क्षमताका आधारमा गर्नुपर्छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /