शेयर र शेयरबजार

वित्तीय क्षेत्रमा प्रचलित ‘शेयर’ अङ्ग्रेजी भाषाबाट आएको आगन्तुक शब्द हो । सामान्य बोलीचालीमा ‘शेयर’ भन्नाले ‘बाँड्नु’ र ‘मिलेर उपयोग गर्नु’ भन्ने अर्थ पनि लाग्छ । शेयरको नेपाली रूपान्तरित शब्द नभएकाले नेपालमा पनि शेयर नै भन्ने गरिएको छ । अङ्ग्रेजीमा ‘शेयर’को समूहलाई ‘स्टक’, नेपालमा ‘धितोपत्र’ र भारतमा ‘प्रतिभूति’भनिन्छ्र शेयर लगानी जोखीम र नाफा दुवैको सङ्गमस्थल हो ।

साधारण र अग्राधिकार शेयर
सामान्य बुझाइमा प्राथमिक निष्कासन (आईपीओ र एफपीओ)मार्पmत विक्री गरिने पूँजीको अंश शेयर हो । तर, बृहत् अर्थमा कम्पनीको सम्पूर्ण पूँजी (आईपीओ र एफपीओ र संस्थापक शेयर)साधारण शेयर हो । दुवै प्रकारका शेयरधनीले समान लाभांश (बोनस वा नगद), मतदान गर्न र सञ्चालक हुन पाउँछन् । निश्चित लाभांश प्राप्त हुने अग्राधिकार शेयर पनि हुन्छ । यसको स्वभाव केही हदसम्म साधारण शेयर र ऋणपत्रसँग मेल खाने भएकाले यसलाई ठिमाहा शेयर पनि भनिन्छ । अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन हुनसक्ने र ऋणपत्रमा जस्तो निश्चित लाभ (ब्याज) पाइने भएकाले यसो भनिएको हो । अग्राधिकार शेयरधारकले अग्राधिकार शेयरकै विषयमा हुने मतदानमा भाग लिन सक्छन् । संस्थापक, आईपीओ र एफपीओ, दोस्रोबजार (स्टक एक्सचेञ्ज) वा लीलामीमार्फत शेयर लगानी गर्न सकिन्छ ।

कम्पनी र शेयरधनी
कम्पनी कानूनी व्यक्ति हो । कुनै भवितव्य परेर सबै शेयरधनीको एकैपटक मृत्यु भए पनि कम्पनी जीवित रहन्छ । खारेजी वा दामासाहीमा परेमा मात्र कम्पनीको अस्तित्व समाप्त हुन्छ । शेयरमा लगानी गर्नेले लगानीको अनुपातअनुसार मुनाफामा समानुपातिक लाभ पाउँछन् । कम्पनीको दायित्व असीमित हुन्छ । तर, शेयरधनीको दायित्व सीमित हुन्छ । कम्पनीका साहू (कम्पनीलाई ऋण दिने वा सामान आपूर्ति व्यक्ति वा संस्था)ले शेयरधनीबाट दायित्व भराउन सक्दैनन् । कम्पनीको दायित्व बढी भई दामासाहीमा परेमा कम्पनीको सबै जायजेथा बेच्दा पनि साहू तिर्न नपुगेको रकम शेयरधनीले घरघरानाबाट जायजेथा ल्याएर तिर्नु पर्दैन । तर, कम्पनी सञ्चालकले बदनियत गरेर घाटा पुर्‍याउने नियत राखेको पुष्टि भएमा भने तिर्नु र बुझाउनुपर्छ ।

शेयर लगानीका फाइदा
स्थान, सम्भाव्यता, समय, जनशक्तिजस्ता पूर्वाधारविना थोरै रकमबाट शेयर लगानी गर्न सकिन्छ । जहाँबाट पनि खरीदविक्री आदेश दिन सकिन्छ । एउटा कम्पनी छाडेर अर्को कम्पनीमा जान सकिने लचकता पनि हुन्छ । विक्री गर्दा लाग्ने सामान्य कमिशन, अन्य शुल्क र नाफा भएमा पूँजीगत लाभकरबाहेक कुनै रकम तिर्नु पर्दैन । व्यापारव्यवसाय बढिरहेको कम्पनीले हरेक साल वा केही वर्षको अन्तरमा पूँजी वृद्धि गर्ने हुँदा लगानी अझ बढ्दै जान्छ । थोरै रकमबाट शुरू हुने यस्ता लगानी बढ्दै जाँदा सन्तान दरसन्तानका लागि आयको राम्रो स्रोत बन्न सक्छ । शुरूको लगानी शून्य भएर सित्तैमा नाफा प्राप्त हुने र यसले खर्च चलाउन आम्दानीका लागि गर्नुपर्ने थप मेहनतको भारसमेत कम गरिदिन्छ । शेयर अत्यन्त तरल सम्पत्ति भएकाले जुनसुकै बेला बेचेर गर्जो टार्न सकिन्छ ।

परिमाण र परिणाम विश्लेषण
वार्षिक प्रतिवेदन, कम्पनी सञ्चालनको स्थिति एवम् अन्य परिमाणात्मक तथ्याङ्कको आधारमा वित्तीय विश्लेषण गरी आधारभूत पक्ष हेरिन्छ । कम्पनीको परिमाणात्मक विश्लेषणमा सञ्चालन तथा गैरसञ्चालन आम्दानी, खूद आम्दानी, प्रतिशेयर आम्दानी, खूद सम्पत्ति (नेटवर्थ), ऋण, विगतको लाभांश, मूल्य (आम्दानी अनुपात, शेयरधनीको कोषमा प्रतिफल (रिटर्नअन इक्विटी) र कुल सम्पत्तिमा प्रतिफल (रिटर्न अन एसेट)लगायत अनुपात हेर्नुपर्छ्र । परिणामात्मक विश्लेषण गर्दा व्यवस्थापकीय अनुभव एवम् प्रस्तुति, प्रतिस्पर्धात्मक वातावरण, सरकारी नीति, समग्र अर्थतन्त्र, व्यापार कौशल, ब्राण्डलगायत पक्ष हेरिन्छ । यसको मापन अङ्कमा गर्न सकिन्न । यस्ता पक्ष सबल भएमा त्यसको प्रभाव परिमाणमा देखिन्छ । परिमाण र परिणामको संयुक्त पक्ष नै कुशल व्यवस्थान हो । यस्ता पक्ष हेरेर लगानी गर्दा दैनिक मूल्यमा हुने परिवर्तनले तात्त्विक असर पर्दैन ।

उत्पादक कि अनुत्पादक
शेयर लगानी उत्पादक र अनुत्पादक दुवै हो । प्राथमिक बजारमार्फत गरिने लगानी उत्पादक हो भने दोस्रो बजारमा स्पेकुलेशन गरेर गरिने लगानी अनुत्पादक मात्र होइन, थाम्नै नसकिने जोखीम पनि हो । दोस्रो बजारमा ओभर स्पेकुलेशन गरेर गरिने कारोबारले पूँजी निर्माण नहुने र सट्टेबाजले मूलपूँजी नै गुमाइदिन सक्छ । अर्थमन्त्री डा.युवराज खतिवडाको भनाइले उत्पादक र अनुत्पादकको निरर्थक बहस शुरू भएको हो ।

लगानी वा व्यापार
व्यापार र लगानीका आफ्नै मान्यता हुन्छ । शेयरमा गरिने लगानीको पनि आफ्नै मान्यता छ । शेयरमा दीर्घकालीन लगानी र सट्टाबाजी दुवै गर्न सकिन्छ । सट्टाबाजी गर्दा कम्पनीको परिमाणात्मक र परिणामात्मक विश्लेषणले कुनै अर्थ राख्दैन । सट्टेबाजले शेयर कारोबारलाई मापन गर्ने सूचकलाई आधार बनाएर अफवाह फैलाउने गर्छन् । यतिमा झर्ने र उतिमा पुग्ने भन्दै मनोवैज्ञानिक रूपमा त्रसित बनाउने औजारका रूपमा उपयोग गर्ने सूचक कसैले पिँजडामा थुनेर राखेको छैन । सूचकबाहेक बेलाबेलामा चुनाव, दलीय सिद्धान्त, व्यक्ति, घटना, प्रवृत्तिजस्ता अमूर्त कुरालाई आधार बनाएर त्रास फैलाउनेको पनि कमी छैन । यस्ता प्रवृत्तिधारीलाई परिमाणात्मक र परिणामात्मक पक्ष केही थाहा हुन्न । सट्टाबाजी गर्ने खेलमा सामेल नभई प्रतिफलमा आधारित लगानी गर्दा दीर्घकालीन रूपमा प्रशस्त नाफा कमाउन सकिन्छ । सट्टाबाजीभन्दा दीर्घकालीन लगानीले अधिक नाफा कमाएको उदाहरण पर्याप्त पाइन्छ ।

शेयरबजार वा स्टक एक्सचेञ्ज
घर, जग्गा, रूख अचल तथा कुखुरा, बाख्रा, गाईजस्ता दोपाया–चौपायाजस्तै शेयर चलसम्पत्ति हो । सबै सम्पत्ति हस्तान्तरणयोग्य हुन्छन् । अचल सम्पत्ति हस्तान्तरणमा केही शर्त बन्देज हुन्छ । चल सम्पत्ति हस्तान्तरणमा सामान्यतया कुनै शर्त बन्देज हुन्न तर शेयर हस्तान्तरण गर्दा कानूनी रीत पूरा गर्नुपर्छ । घरजग्गा आधारभूत सम्पत्ति भएको र पुस्तागत हस्तान्तरण हुँदै जाने हुँदा यस्ता सम्पत्ति हस्तान्तरण भएको अभिलेख राख्ने कार्यका लागि मालपोत कार्यालय रहेको हुन्छ । शेयर ऐच्छिक लगानी भएकाले यसको हस्तान्तरणका लागि मालपोत कार्यालयजस्तो हरेक जिल्लामा हस्तान्तरण गर्ने अड्डा आवश्यक हुन्न । शेयरको हस्तान्तरण गर्ने मालपोत कार्यालयका रूपमा स्टक एक्सचेञ्ज रहेको हुन्छ । यसैलाई शेयरबजार पनि भनिन्छ । स्टक एक्सचेञ्जको शुरुआत नहुँदा कम्पनी रजिष्ट्रार कार्यालयले हस्तान्तरण गर्ने प्रबन्ध रहेको थियो । अहिले यही कार्य नेपाल स्टक एक्सचेञ्जले गर्छ । बोलीचालीमा सम्पत्ति र शेयर बेच्ने भनिए पनि वास्तवमा स्वामित्व हस्तान्तरण हो । स्वामित्व हस्तान्तरण गर्दा धारकमात्र फेरिन्छ, नयाँ सम्पत्ति सृजना हुँदैन । परल मूल्यभन्दा कम वा प्रिमियम जुन मूल्यमा शेयरको स्वामित्व हस्तान्तरण भए पनि कम्पनीलाई कुनै फाइदा र घाटा हुन्न ।

अन्त्यमा, शेयरमा गरिने लगानीको मूल उद्देश्य लाभ वा प्रतिफल हो । सट्टाबाजीमा प्राप्त हुने लाभ सांयोगिक भएकाले यसलाई बढी भार दिइनु हुन्न । बजारमा धेरै सट्टाबाजी हुँदा शेयर मूल्यमा दबाब परेर कमी आउँदा दीर्घकालीन लगानी गर्नेका लागि यस्तो समय अवसर बन्न सक्छ । (आर्थिक अभियानका लागि ज्योति दाहालको लेख)

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /Monday, April 16th, 2018, 8:34 am