इण्टरनेटबाटै शेयर खरीद विक्री आदेश दिने व्यवस्था शुरु

काठमाडौं, वैशाख ३ । आइतवारदेखि इन्टरनेटबाट शेयर खरीद विक्री आदेश दिन सक्ने व्यवस्था शुरु भएको छ । ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजङ्गा सेक्युरिटिज प्राइभेट लिमिटेडमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले यस प्रणालीको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । प्रणालीको उद्घाटन गर्दै कार्कीले एक वर्षभित्र नेपालका ७७ ओटै जिल्लामा यो सेवाको पहुच पुर्‍याउने वताएका छन् ।

पूँजीबजारको विकासका लागि यस प्रणालीले ठूलो भूमिका निर्वाह गर्ने उनको भनाई छ । कार्कीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जेठमा परिक्षण गर्न लागेको अनलाइन प्रणालीलाई समेत यस प्रणालीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । आजबाटै ब्रोकर नं. ५८ नाशा सेक्यूरिटिज कम्पनी लिमिटेड र ब्रोकर नम्बर २१ मिडास स्टक ब्रोकिङ् कम्पनी प्राइभेट लिमिटेडले पनि यस प्रणालीको सुरुवात गरेका छन् ।

बोर्डले यस वर्षको शुरुवात देखिनै इन्टरनेट मार्फत शेयर खरीद विक्रीको आदेश दिनसक्ने व्यवस्था लागू गर्न सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई शुक्रवार निर्देशन दिएको थियो । यसअघि बोर्डले २०७३ फागुन २६ मा पहिलो पटक ब्रोकर कम्पनीहरुलाई परिपत्र गरेको थियो ।

यो व्यवस्थाको शुरुवातसँगै लगानीकर्ताले शेयर खरीद विक्रीका लागि ब्रोकर कार्यालयसम्म धाउनुपर्ने समस्यको अन्त्य भएको छ । अब एसएमएस र इमेलबाटै शेयर खरीद र विक्रीको आदेश दिन सकिनेछ भने लगानीकर्ताले खरीद विक्रीको विवरणसमेत इण्टरनेटबाटै हेर्न सक्नेछन् । शेयर कारोबार प्रकृयालाई थप सहज, पारदर्शी एवम् लगानीकर्ता मैत्री बनाउने प्रयास स्वरुप यो प्रणाली लागू गरिएको हो । यसबाट ब्रोकर कार्यालयमा रहने कारोबार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ बनाउने बोर्डको भनाई छ । यो खबर आजको आर्थिक अभियानमा छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /