औषधि नहुँदा गरिब मारमा

बाजुरा, वैशाख ३ । स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि नि:शुल्क पाइने प्रावधान भए पनि कुनै पनि किसिमका औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएको बिरामीको गुनासो छ। यो खबर आजको अन्नपूर्ण पोष्टबाट लिएका हौं ।

बडिमालिका नगरपालिका-३ की तुलादेवी खड्काले स्वास्थ्य संस्थामा नि:शुल्क पाइने भनिएका औषधि २५ सय रुपैयाँभन्दा बढी तिरेर निजी मेडिकलबाट किनेको गुनासो गरिन्। ‘सरकारले स्वास्थ्यचौकीमा औषधि पठाइएको कुरा गर्छ तर हामीजस्ता गरिबले औषधि किन्नुपरिरहेको छ’, खड्काले भनिन्, ‘ म मात्र होइन, अरू बिरामी पनि निजी औषधि पसलतिर धाइरहेका छन्।’

‘जिल्ला अस्पतालमा औषधि छैन, यस्तो पनि हुन्छ ? ’ बडिमालिका नगरपालिका-९ की मीनाक्षी आचार्यले आक्रोश व्यक्त गरिन्, ‘निजी स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन। के हामी मर्ने ? ’

केन्द्रबाट जिल्लामा आवश्यक औषधि प्राप्त नहुँदा अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कँुवरले बताए। ‘अहिले औषधि खरिद गर्ने कि नगर्ने भन्ने अन्योल भएको छ, ‘उनले भने, ‘यसले गर्दा बिरामीलाई समस्या परेको छ।’ जिल्ला स्वास्थ्य कार्यालयमै औषधि अभाव हुँदा जिल्लाका अन्य स्वास्थ्यचौकी पनि प्रभावित हुन पुगेको भनाइ अधिकृत कुँवरको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले निर्णयको अधिकार स्थानीय तहमा गएको र आफूहरू बजेट नभएकाले औषधि खरिद प्रक्रिया अलमलिएको बताए। भने, ‘कतै-कतै गैरसरकारी संस्थाले सहयोग गरेका छन् तर समस्या भने उस्तै छ।’

बाजुरामा १ जिल्ला अस्पताल, २६ स्वास्थ्यचौकी, १ प्राथमिक स्वास्थ्य केन्द्र, ८ सामुदायिक स्वास्थ्य इकाइ र २ वटा सहरी स्वास्थ्य केन्द्र छन्।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /