दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली

सुर्खेत, वैशाख ३| प्रधामन्त्री केपी शर्मा ओलीले देश बनाउने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नदिने गरी सरकारले नयाँ अभियान थालेको समेत प्रधानमन्त्री ओलीले बताए ।

हिजो मात्रै मुगुमा एक बालिकालाई आफूले भर्ना गरेर अभियानको सुरुवात गरेको भन्दै उनले अब कोही पनि निरक्षर नहुने दाबी गरेका छन् ।

विश्वविद्यालयकोे अवलोकन
त्यस अवसरमा प्रधानमन्त्री ओलीले वीरेन्द्रनगरको कुईनेपानीस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय क्याम्पसको प्रशासनिक भवनको अवलोकन पनि गरेका थिए ।

कार्यक्रममा बोल्दै ओलीले राम्रो भवनले गुणस्तरीय शिक्षा नदिने भन्दै अन्तरवस्तु सुधार गर्नतर्फ विद्यालयहरु केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले अब कर्णाली प्रदेशलाई कुनै पनि हालतमा पछि पर्न नदिने उनले बताए ।

‘यो प्रदेश दक्षिणको छिमेकी भारतसँग सिमना नजोडिएको हुँदा उत्तरका छिमेकीसँग विभिन्न ठाँउबाट सिमाना जोडनु पर्छ’ उनले भने, ‘सडक सञ्जाल नजोडिएको हुम्लामा पनि सडक सञ्जाल जोडनु पर्छ ।’ कृषिको आधुनिकीकरण तर्फ पनि केन्द्रित हुनुपर्ने प्रधानामन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री भएपछि पहिलो पटक प्रदेश भ्रमण गर्दै कर्णालीको राजधानी वीरेन्द्रनगर आई पुगेका प्रधानमन्त्री ओलीले केन्द्र सरकारले कर्णालीलाई प्राथमिकतामा राखेको बताए । कर्णाली प्रदेशको विकासको गाडी खराब नभएको भन्दै ओलीले अब कर्णाली पछि नपर्ने दाबी समेत गरे ।

सबै जिल्लामा सुर्खेतदेखि सिधै हवाई सेवा जोडने
कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सुर्खेतदेखि सिधै हवाई सेवा जोडिने पनि प्रधानमन्त्री ओलीले बताएका छन । देश विकासका लागि जनप्रतिनिधीहरुले अब नेतृत्वदायी भुमिका खेल्नुपर्ने उनको भनाइ रहेको छ ।
कृषि, जडिबुटी, स्वास्थ्य, पर्यटन, कृषिको विकासका लागि नयाँ ढंगले सोच्न पनि जनप्रतिनिधीलाई आग्रह गरे । (नयाँ पत्रिका)

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /Monday, April 16th, 2018, 5:46 am