खानेपानी हरेक महिलाको चुलोमा जोडिएको छ : मन्त्री विना मगर

केशव घिमिरे/ललितपुर, वैशाख २ । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले खानेपानी हरेक महिलाको चुलो चौकामा जेडिने बताएकी छिन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ भारदेउस्थित नौखण्डेडोल स्वच्छ खानेपानी तथा सरसफाई आयोजनाले आयोजना गरेको उद्घाटन कार्यक्रममा उक्त कुरा बताएकी हुन् ।

उनले पानी हरेक गृहणीका दिनचर्यासँग जोडिएको विषयवस्तु भएको बताउँदै आयोजनाले राम्रो काम गरेको भन्दै आफू धेरै नै उत्साहित भएको बताइन । जनयुद्धको बेलामा आफू ललितपुरको माझखण्डमा सेल्टर लिएर बसेको भन्दै बागमतीको तिरैतिर घुमफिर गरेको समेत सभामा स्मरण गरिन ।
जनताले दिएको म्याण्डेड अनुसार काम गर्ने प्रतिबद्धता समेत जाहेर गर्दै पानी सबैको लागि आवश्यक भएको भन्दै जतिसक्दो चाडो काकाकुल राजधानीबासीलाई मेलन्चीको पानी उपलब्ध गराउन आफू दिनरात नभनी लागि परेको समेत बताईन ।

आर्थिक समृद्धिको लागि जलस्रोत तथा उर्जाको महत्व रहेको बताउँदै स्वच्छ खानेपानीलाई कम महत्व दिएकोमा गुनासो गरी स्वच्छ खानेपानी विना समृद्धि हुन नसक्ने समेत उनले उद्घोष गरिन ।

एक फरक प्रसंगमा उनले २०७४ साल शुभ रहेका बताउँदै, यसैसाल स्थानीय तह, प्रदेश तथा संघको निर्वाचन भएको भन्दै संघीयताको कार्यान्वयनको वर्षको रुपमा यस वर्षलाई लिन सकिने औल्याइन ।

प्रदेश सांसद चेतनाथ सञ्जेलले दक्षिण ललितपुरवासीको विकासको लागि खानेपानी र सडक विस्तारमा जोड दिदै भारदेउबाट शुरु भएको खानेपानी आयोजना स्थानीय जनताको उच्च सम्मान गर्दै अभियानकै रुपमा ललितपुरमा मात्रै नभइ देशै भरि शुरु गर्नु पर्ने औल्याए ।

त्यसैगरी कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष गोपीलाल सिंङ्तानले कर्मचारीतन्त्रको जालो नतोडेसम्म देशको विकास हुन नसक्ने औल्याउदै जनप्रतिनिधिहरुलाई कर्मचारीहरुले सहयोग नगरेको समेत आरोप लगाए । एक घर एक धारा नीति कोन्ज्योसोमको ५ वटै वडाका घरधुरीमा लागु गर्ने र हरेकको घरमा पानी ल्याउने प्रतिबद्धता समेत जाहेर गरे ।

कार्यक्रम नौखण्डेडोल स्वच्छ खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष कान्छा घलानको अध्यक्षतामा भएको थियो । उक्त अयोजनालाई ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति, विकासको लागि स्थानीय स्वयम सेवकहरुका प्रयास (साल्भा) नेपाल र कोन्ज्योसोम गाउँपालिकाको वित्तीय सहायता रहेको छ । काय्रकममा विभिन्न रोचक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: आइतवार, बैशाख २, २०७५ /Sunday, April 15th, 2018, 6:08 pm