प्रधानमन्त्री ओलीले मुगुका एक बालक पढाइदिने !

मुगु, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन् ।
मुगुको मुगुम कार्मारोंग गाउ“पालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छात्रा थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिदिएका हुन् ।

छात्राको अभिभावत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गरेका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक पनि दिए ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिइन । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरिन ।

कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्री ओलीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावत्कव लिंदै विद्यालय भर्ना गरेका हुन् ।
प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरे ।

प्रकाशित मिति: शनिबार, बैशाख १, २०७५ /Saturday, April 14th, 2018, 9:46 pm