जनप्रतिनिधिलाई अविभावक हुन आव्हान

हेटौँडा, चैत ३० । प्रदेश नं ३ मा पाँच हजार ८६९ विपन्न बालबालिकाले जनप्रतिनिधिलाई अविभावक बनाउन पाउने भएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले भर्ना अभियान सफल बनाउन सबै जनप्रतिनिधिलाई यस्तो निर्देशन दिनुभएको हो । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले प्रदेश नं ३ का सबै जननिर्वाचित प्रतिनिधिले कम्तीमा एकजना विद्यालय जाने उमेर भएका तर पारिवारिक समस्याको कारण जान नसकेका विद्यार्थीहरुको अविभावक हुन निर्देशन दिनुभएको हो ।

प्रदेश ३ का तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४२ नगरपालिका र ७३ वटा गाउँपालिकाको एक हजार १३२ वडाबाट निर्वाचित जनप्रतिनिधिले एक÷एक जना बच्चाको अविभाकत्व ग्रहण गर्दा धेरै बालबालिका शिक्षित हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले आफू पनि विद्यार्थीको अविभावक बन्दै विद्यार्थीलाई भर्ना गर्ने जानकारी दिनुभयो । उहाँले मकवानपुरको मनहरि गाउँपालिकामा आफूले जिम्मेवारी लिने बच्चाको खोजी गरिरहेको बताउनुभयो । साथै सबै जनप्रतिनिधिले बच्चाका लागि पाँच वर्षसम्म अविभाभकको भूमिका निभाउने र सम्पूर्ण खर्च व्यहोर्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, बैशाख १, २०७५ /