वाणिज्य बैंकमा पहिलो महिला सिइओ

काठमाडौं, चैत ३० । अनुपमा खुँजेली मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २ वैशाखदेखि लागू हुने गरी खुँजेलीलाई सिइओ नियुक्त गरेको हो । क वर्गको वाणिज्य बैंककी सिइओ नियुक्त हुने खुँजेली पहिलो महिला हुन् ।

यसैबीच माछापुच्छ्रे बैंककोे प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमन शर्मा नियुक्त भएका छन् । २८ चैतमा बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गरेकोहो । २१ बर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ सुरु गरेका थिए ।

सन् १९९१ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक (तत्कालीन ग्रिन्डलेज बैंक)बाट करिअर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगा बैंकमा पुगेकी थिइन् । तत्कालीन सिइओ अनिल शाहले दुई कार्यकाल समाप्त गरी मेगा बैंक छाडेपछि सञ्चालक समितिले उनलाई २३ मंसिरदेखि लागू हुने गरी कामु सिइओमा नियुक्त गरेको थियो । त्यसको चार महिनापछि उनी पूर्ण सिइओमा नियुक्त भएकी हुन् ।

शर्माले एन.एम.बि. बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा काम गरेका थिए । माछापुच्छ्रे बैंकमा समेत करीब ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४ /Friday, April 13th, 2018, 6:50 am