एउटै कम्पनीको टेण्डर हालेर महालक्ष्मी नगरपालिकाले किन्यो १ करोड १८ लाखको सवारी साधन

ललितपुर, चैत ३० । ललितपुरको महालक्ष्मी नगरपालिकाले १ करोड १८ लाख ७५ हजारका सवारी साधन खरिद गरेको छ ।

नगरपालिकाले आफ्नो जनप्रतिनिधिका लागि १ वटा कार, १४ वटा मोटर साइकल, व्याकुलोडर खरिद गरेको हो, जसमा करिब १ करोड १८ लाख ७५ हजार खर्च गरिएको छ । दैनिकीन्यूजलाई प्राप्त जानकारी अनुसार महालक्ष्मी नगरपालिकाका नगरप्रमुख रामेश्वर श्रेष्ठलाई गाडी र प्रत्येक वडाअध्यक्षलाई एक एक वटा मोटर साइकल खरिद गरिएको हो । दुई वटा गाडी खरिदमा करिब ९१ लाख ६८ हजार खर्च गरिएको छ भने मोटर साइकल खरिदमा २४ लाख २८ हजार खर्च गरिएको छ । महालक्ष्मी नगरपालिकाले मोटर आन्तरिक स्रोतबाट खरिद गरेको दाबी गरेको छ भने मोटरसाईकल केन्द्रीय सरकारी अनुदानको बजेटमा खरिद गरिएको जनाएको छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बहादुर खडकाले नगरपालिकाले १४ वटा टिभिएस स्टिन्जर १२५ सिसीका मोटर साइकल खरिद गरेको स्वीकार गर्दै १० वटा वडाअध्यक्षलाई, कृषि शाखालाई १, स्वास्थ्य शाखालाई १ र वाँकी रहेको २ वटा मोटर साइकल वडा नं. १० लाई दिएको बताए ।

एउटै कम्पनीको मात्रै टेण्डर दर्ता
नगरपालिकाको प्रमुखका लागि स्कार्पियो गाडी खरिद गरिएको छ त्यसको बजार मूल्य भ्याट बाहेक ५३ लाख ५४ हजार परेको विल बनाइएको छ । रोचक कुरा त गाडी खरिद गर्न निकालिएको टेण्डरमा जम्मा अग्नी कम्पनीको मात्रै टेण्डर परेको छ । गाडी नं. बा २ झ २५३० नम्बरको उक्त गाडी चैत १ गते विल नं. AHOSP17404320 मा खरिद भइसकेको छ । जबकि उक्त स्कार्पियो खरिद गर्नका लागि ५४ लाख रुपैयाँ विनियोजन गरिएको छ तर, कुनै प्रतिस्पर्धा नै नगरी एउटा मात्रै कम्पनीको टेण्डर लिएर गाडी खरिद गरिएको छ ।

यसैगरी अर्काे गाडी खरिदमा पनि एउटा मात्रै कम्पनीको टेण्डर पारेको पाइएको छ । जसमा HATCh Back Car खरिद टेण्डरमा अरुण इन्टरकन्टिनेन्टल प्रालिको फागुन २८ गते विल नं. ००६३१ मा टेण्डर परेको उल्लेख छ जसमा २७ लाख ५९ हजार २९२ (भ्याट बाहेक) मा गाडी खरिद गर्न सक्ने उल्लेख गरिएको छ, उक्त गाडी २८ लाख रुपैयाँसम्ममा खरिदको लागि टेण्डर हाल्न सक्ने सूचना थियो तर, एउटै कम्पनीको मात्रै टेण्डर परेको बनाएर त्यहाँ पनि भ्रष्टाचार गरिएको छ । अहिले उक्त कम्पनीबमट खरिद गरिएको गाडी बा २ झ २५२९ नम्बर प्लेट राखेर सञ्चालन भइहेको छ ।

नगरपालिकाले मोटरसाइकल खरिद गर्न निकालेको टेण्डर सूचनामा तीन वटा कम्पनीले फारम किने पनि जगदम्बाको मात्रै दर्ता गरिएको छ ।

दैनिकी न्यूजले फेला पारेको डकुमेन्टमा मोटरसाइकल खरिद गर्नका लागि २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ त्यसमध्ये जगदम्बा मोटर प्रालिबाट विल नं. ११३८ मिति २०७४।१२।०२ मा प्रति मोटरसाइकल भ्याट बाहेक, १,५३,४५१ (एक लाख त्रिपन्न हजार चार सय एकाउन्न) परेको उल्लेख गरिएको छ । बा. २ व ९२६१ देखि ९२७४ सम्म नम्बर रहेका १४ वटा मोटरसाइकल खरिदमा भ्याट बाहेक जम्मा २१ लाख ४८ हजार ३१८ परेको देखाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४ /Friday, April 13th, 2018, 8:08 am