भण्डारी पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

काठमाण्डौं, फागुन २९ । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् । यसअघि उनी २०७२ सालमा दुई वर्ष राष्ट्रपति रहेकी थिइन । बहालवाला अवस्थामै उनले राष्टरपति निर्वाचनको लागि उम्मेदवारी दिएकी थिइन ।
राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी दोस्रो पटक राष्ट्रपति बनेकी हुन् ।

वाम गठबन्धन र मधेस केन्द्रीत दलको समर्थनले भण्डारीले दुई तिहाई बढी मत प्राप्त गरिन । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् ।

भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्यले मतदान गरेका थिए । यसैबीच राष्ट्रपतिले बुधबार पद तथा गोपनीयताको शपथ लिने भएकी छिन ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 6:12 pm