एनआइसी एसिया बैंकले घटायो व्याजदर

ललितपुर, फागुन २९ । एनआइसी एसिया बैकले व्याजदर घटाएपछि बैंकर्स संघसँगको विवाद साम्य भएको छ । राष्ट्र बैंकले बोलाएर व्याजदरको सीमा बारेमा सहमति गराएपछि विवाद साम्य भएको हो।

सबै बैंकले एक्ल्याएपछि ‘सिन्डिकेट’ लादिएको आरोप लगाएको एनआइसीले अन्ततः व्याजदरको सीमाभित्रै आफूलाई राख्नेगरी सहमति गरेको हो। राष्ट्र बैंकले बैंकर्स संघका अध्यक्षसहित एनआइसी एसियाका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो। सोही छलफलमा एनआइसीले बढी व्याजदर नदिनेगरी सहमति गरेको हो।

सहमतिअनुसार अब एनआइसी एसिया बैंकले मुद्दतीमा ११ प्रतिशत तथा बचतमा ८ प्रतिशतभन्दा बढी व्याजदर दिने छैन। त्यस्तै यसअघि मुद्दतीमा खाता खोलिसकेकालाई १ वर्षे अवधिको भएकाले सो अवधिसम्म त्यति नै व्याजदर दिने तर नयाँलाई ११ प्रतिशतभन्दा बढी नदिने सहमति भएको छ।

यसअघि बैंकर्स संघमा बचतमा ८ तथा मुद्दतीमा ११ प्रतिशत बढी व्याजदर नदिनेगरी सहमति भएकोमा एनआइसीले ५ दिनअघि बचतमा १० र मुद्दतीमा १२ प्रतिशतको योजना ल्याएको थियो। त्यसपछि संघ र बैंकबीच विवाद देखिँदै आएको थियो।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 3:02 pm