सबै प्रदेशका मुख्यमन्त्रीसहित निर्वाचित नेता काठमाडौंको बानेश्वरमा

काठमाडौं, फागुन २९ । मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरू म‌ंगलबार संघीय संसद् भवन परिसर बानेश्वरमा भेला हुनुभएको छ ।

संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उहाँहरू काठमाडौँ आइपुग्नुभएको हो । सो निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ सदस्य मतदाता छन् ।

त्यस्तै, संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३ सय ३१ सदस्य मतदाता छन् । राष्ट्रपति पदको निर्वाचनका लागि यतिका संख्यामा जनप्रतिनिधि पहिलो पटक राजधानीमा उपस्थिति भएको हो ।

संघीय संसद् भवन परिसरको पूर्वपट्टिको खुल्ला स्थानमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । संघीय संसद्को तुलनामा प्रदेशसभा सदस्यको संख्या बढी भएकाले प्रदेशसभा सदस्यको लाइन निकै लामो देखिएको छ ।

राष्ट्रपति पदको निर्वाचनका लागि ९ बजेदेखि मतदाता निर्वाचनस्थलमा प्रवेश गरेका थिए भने १० बजे बिहानदेखि मतदान सुरु भइसकेको छ । रासस

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 12:09 pm