शिक्षक महासंघको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं, फागुन २९ । नेपाल शिक्षक महासंघको अध्यक्षमा बाबुराम थापा निर्वाचित भएका छन् । महासंघको प्रथम महाधिवेशनले रुद्रायणी मावि खोकना ललितपुरका प्रधानाध्यापक समेत रहेका थापालाई सर्वसम्मतरुपमा निर्वाचित गरेको हो ।

महासंघको महाधिवेशनले थापाको अध्यक्षतामा १९ पदाधिकारी सहित ६१ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा सर्वसम्मत चयन गरेको हो ।

थापा सार्क शिक्षक महासंघका पूर्व अध्यक्ष एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका वर्तमान अध्यक्ष हुन् । खरो र निडर स्वाभावका मानिने थापालाई शिक्षक संगठनले महासंघको नेतृत्व गर्न पठाएको हो ।

यसैगरी महासंघको सह–अध्यक्षमा नारायणी नमुना मावि चितवनका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी निर्वाचित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता दवाडी बौद्धिक र इमान्दार शिक्षक नेता मानिन्छन् । यसैगरी महासंघको महिला उपाध्यक्षमा टिका राई र उपाध्यक्षमा तिलक कुँवर र इन्द्रराज भट्टराई निर्वाचित भएका छन् ।

१८ वटा शिक्षकको संघसंगठनहरु मिलेर शिक्षक महासंघ बनेकाले सवै संघगठनहरुको प्रतिनिधि हुने गरी सहमतिमा महास.घको पदाधिकारी निर्वाचित हुँदै आएका छन् । पहिले संघसंगठनहरुलाई पदाधिकारी सहित सदस्यहरुको भागवण्डामा सहमति गरी संघसंगठनहरुले पठाएका नामावलीका आधारमा महासंघमा पदाधिकारी र सदस्यहरु निर्वाचित हुने गरेका छन् । निकै मिहिनेत पछि आइतबार राती ११ बजे महासंघको पदाधिकारीमा सहमति जुटेको थियो ।

सहमति अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्ष सहित ४ पदाधिकारी, नेपाल शिक्षक संघले महासचिव सहित ४ पदाधिकारी, एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले सह–अध्यक्ष सहित ४ पदाधिकारी पाउने भएका थिए । यसैगरी अखिल नेपाल शिक्षक संगठन(एण्टो)ले महिला उपाध्यक्ष सहित ३ पदाधिकारी पाउने सहमति भएको महासंघले जनाएको छ ।

सदस्यहरुमा पनि भागवण्डा भएको थियो । जस अनुसार शिक्षक संगठनले १२ सदस्य, शिक्षक संघले ११ सदस्य, युएण्टोले ९ सदस्य, एण्टोले ८ सदस्य पाएका छन् । सवै संगठनले आफुले पाएका पदाधिकारी र सदस्यहरुमा निर्वाचित हुने सदस्यहरुको नामावली पठाएपनि नेपाल शिक्षक संघले भने आन्तरिक विवादका कारण नामावली पठाउन सकेको छैन ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्षमा थापा र उपाध्यक्षमा कुँवर सँगै महिला उपमहासचिवमा कमला तुलाधर, सचिवमा सूर्यबहादुर दहाल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा उध्दव न्यौपाने, प्रदेश १ बाट सौमाया राई, प्रदेश २ बाट मणिशंकर निधी, प्रदेश ३ बाट भवानी देवकोटा र प्रदेश नं ४ बाट लोचना अधिकारी निर्वाचित भएका छन् । यस्तै, प्रदेश ५ बाट मतिराम शर्मा, प्रदेश ६ बाट कृष्ण भट्टराई र प्रदेश ७ बाट कर्णबहादुर भण्डारी निर्वाचित भएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट सह–अध्यक्षमा दवाडीसँगै उपमहासचिवमा दिनानाथ तिम्सिना, महिला सचिवमा चेतना रेग्मी, सचिवमा झम्क चौलागाई निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा नारायण अर्याल, प्रमोद मिश्र, अर्जुन नगरकोटी, गणेश रिजाल र दिनेश कुमार राय निर्वाचित भएका हुन् ।

यसैगरी, अखिल नेपाल शिक्षक संगठनको तर्फबाट उपाध्यक्षमा राइसँगै अर्थउपमहासचिवमा शेरबहादुर अधिकारी र सचिवमा केशव झा निर्वाचित भएका छन् । सदस्यहरुमा गुरु प्रसाद थारु, सिंहबहादुर बुढा, रमेश मल्ल, जिसनु उप्रेती र राम नारायण साह निर्वाचित भएका छन् ।

यसैगरी इस्टुबाट उपाध्यक्षमा इन्द्र भट्टराई सँगै सदस्यहरुमा देविदत्त पौडेल, केशवराज भट्ट, अरुणा कोइराला र नारायण पौडेल निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 6:02 am