नेपालद्वारा हङकङ ५ विकेटले पराजित

काठमाडौं, फागुन २८ । एकदिवसिय विश्वकप छनोटको चौथो खेलमा नेपालले हङकङमाथि शानदार जित निकालेको छ । १५४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए । नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।

जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा पूरै विकेट गुमाउदै १५४ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।

नेपालले अब प्लेअफमा अर्को समूहको पुछारमा रहेको पपुवा न्यु गिनीको सामना गर्नेछ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 7:58 pm