विमान दुर्घटनाः मृतकको संख्या ४८ पुग्यो

काठमाडौं, फागुन २८ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ ।

घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको जानकारीमा आएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा ७१ जना सवार थिए । सो विमानमा ३३ जना नेपाली समेत सवार थिए ।

प्रधानमन्त्री र गृहमन्त्रीद्वारा निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओली बंगलादेशी विमान दुर्घटनामा परेकाहरुको उद्धार कार्यको निरीक्षण गर्न त्रिभुवन विमानस्थल पुगेका छन् । सोमबार अपरान्ह बंगलादेशबाट आएको युएस बंगला विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ‘चिप्लिएर’ दुर्घटनामा परेको बताइएको छ । प्रधानमन्त्री र गृहमन्त्रीले उद्धार कार्यलाई तीव्रता दिन नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

यसअघि गृहमन्त्री रामबहादुर थापा बादल पनि दुर्घटनास्थलमा पुग्नु भएको थियो ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ /Monday, March 12th, 2018, 5:20 pm